प्रतीकात्मक फोटो
काठमाडौं- नेपालको तराई क्षेत्रको नजिक भारतको मध्य र उत्तर प्रदेश न्यून चापीय रेखाको विकास भएकाले सोमबार रातिदेखि देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। न्यून चापीय रेखा नेपालतिर आउने सम्भावना कम भए पनि देशैभर बदली भई अधिकांश क्षेत्रमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
आइतबार बंगालको खाडीमा न्यून चापीय क्षेत्रको विकास हुँदा प्रदेश १ र २ का एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए। सोमबार राति न्यून चापीय रेखा भारतको मध्य र उत्तर प्रदेशमा विकसित हुँदा पूर्वी नेपालदेखि पश्चिमका अधिकांश भू-भागमा भारी वर्षा हुनसक्ने उनले बताए।
यस्तो छ मौसमको अवस्था
आइतबार दिउँसो देशभर सामान्यतया बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबार राति देशभर सामान्यतया बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तर, प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सोमबार दिउँसो देशभर सामान्यतया बदली भई प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तर प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
सोमबार राती प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्यदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मंगलबार दिउँसो देशका अधिकांश भूभागमा पूर्ण बदली भई धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
तर मंगलबार राति पनि देशभर पूर्ण बदली रहने भएको छ। बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका धेरै स्थान सहित प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।