सांकेतिक तस्बिर
तनहुँ-पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ स्थित ऐनापहरा नजिक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग तीन दिनदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। गत शुक्रबार बिहान सडकभन्दा माथि डाँडाबाट सुक्खा पहिरोसँगै ठूलाठूला ढुंगा खसेपछि हटाउन नसक्दा एकतर्फी मात्रै सवारी सञ्चालनमा ल्याइएको हो।
ठूला ढुगा खसेर सडक अवरुद्ध हुँदा ठूला सवारीलाई आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए। पहिरोले राजमार्ग अवरुद्ध भएलगत्तै दुई डोजर प्रयोग गरेर माटो पन्छाए पनि ढुंगा हटाउन नसक्दा समस्या आएको हो । ढुंगा हटाएर दुईतर्फी सवारी साधन सञ्चालनमा ल्याउन पहल भइरहेको उनले बताए।
अवरुद्ध राजमार्ग एक घण्टाको अवधिमा पहिरो हटाएर एकतर्फी सवारीसाधन सञ्चालन गरिए पनि ढुंगा हटाउन नसक्दा दुईतर्फी गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। उक्त क्षेत्रमा वर्षा नभएको समयमा समेत सुक्खा पहिरो खस्दा सर्वसाधारणले सहजरूपमा आवतजावत गर्न पाएका छैनन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।