कैलाली–कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
जानकी गाउँपालिका ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने चार युवकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।
बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ कै दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आज बिहान पक्राउ गरिएको डिएसपी न्यौपानेले जानकारी दिए। उनीहरु चारै जनालाई उनीहरुका घरबाट पक्राउ गरिएको न्यौपानेले बताए।
पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। युवतीमाथि गत भदौँ ११ गते राति सामूहिक बलात्कार भएको थियो।
राति पल्लो घरमा रहेका बुबासँग मोबाइल माग्न जाने क्रममा उनी चार जनाद्वारा बलात्कृत भएकी हुन्।
युवतीले आफूलाई अपहरण गरेर नजिकैको खेतमा लगेर उक्त समूहले बलात्कार गरेको बयान प्रहरीलाई दिएकी छिन्। उनले पीडकहरुका विरुद्ध शनिबार प्रहरीलाई बयान दिएकी हुन्।
बलात्कार घटना लुकाएर बसेकी ती किशोरीको अवस्थाबारे उनका साथीहरुले खोजी गर्ने क्रममा भदौ १२ गते साँझ मात्रै उनले आफू बलात्कृत भएको बताएकी थिइन्। युवतीकी आमा कामको सिलसिलामा भारतमा रहेको बताइएको छ उनी बाजे, बज्यै र बु्बासँग बस्दै आएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।