काठमाडौं–सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ६ धुसेनीमा पहिरो जाँदा चार घर पुरिएको छ। आइतबार बिहान ३ बजे गएको पहिरोले चार घर पुरेको स्थानीय खेलबहादुर भण्डारीले बताए।
पहिरोले स्थानीय खिलबहादुर भण्डारीका दुई घर तथा सीताराम भण्डारी, र इबहादुर भण्डारीका एक–एक घर पुरिएका छन्। ताराबहादुर भण्डारीको घर भने पहिरोको जोखिममा छ।
सुन्दरडाँडाबाट आएको पहिरोले धुसेनीका यी घर पुरिएका हुन्। स्थानीयहरु पहिरोको जोखिमका कारण घर छाडेर अन्यत्रै बस्ने भएकाले मानवीय क्षति नभएको बताइएको छ। धुसेनीका अन्य ३२ घर पहिरोको उच्च जोखिममा छन्। सुन्दरडाँडाका २३ घर र पाखरदोभानका ४ घर पनि उच्च जोखिममा रहेको स्थानीयले बताएका छन्।
त्यस्तै ४ रोपनी क्षेत्रमा लगाएको धानबाली पनि उच्च जोखिममा रहेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाका लिदी, जम्बु, मेलम्ची, फुल्पिङलगायतका स्थानमा बाढी र पहिरोमा परी यस वर्षमात्रै ५६ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।