काठमाडौं- भक्तपुर, सूर्यविनायक नगरपालिका-१० चितापोलबाट बैंकिङ कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी सोही ठाउँ बस्ने ५० वर्षीय दिनेश कार्कीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
कैलाली, जिल्ला अदालत कैलालीको २०७५ भदौ २१ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ४ वर्ष ११ महिना २ दिन कैद सजाय भई फरार रहेका प्रतिवादी गौरीगंगा नगरपालिका-२ बस्ने २६ वर्षीय बल बहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय चौमलाबाट खटिएको प्रहरीले गौरीगंगा नगरपालिका-२ स्थितमा फेला पारी पक्राउ गरेको हो। रानालाई जिल्ला अदालत कैलालीको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यसैगरी जिल्ला अदालत कैलालीको २०७१ पुस ३ गतेको फैसलाले जालसाजी मुद्दामा १ लाख २८ हजार १ सय २५ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी जोशिपुर गाउँपालिका-३ बस्ने ४० वर्षीय शिव प्रसाद डगौरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। डगौराले जग्गाको कागजातमा सोही ठाउँ बस्ने सुन्दरी दासको किर्ते सहिछाप गरी नक्कली कागज गरी फरार भएका थिए। ईलाका प्रहरी कार्यालय जोशिपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो। डगौरालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत कैलालीमा पेश गरिएको छ ।
यसैगरी जिल्ला अदालत कैलालीको २०७१ जेठ २५ गतेको फैसलाले चोरी मुद्दामा १ लाख १७ हजार ५ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका २ जना प्रतिवादीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा कैलारी गाउँपालिका-८ बस्ने ३२ वर्षीय पप्पु चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय नरेश चौधरी रहेका छन्।
ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरुलाई आ-आफ्नै घरमा फेला पारी पक्राउ गरेको हो। पक्राउ दुवै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत कैलालीमा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षका लागि कारागार कार्यालय कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।