एजेन्सी-कोरोना संक्रमणबाट भारतमा ६२ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ६२ हजार ५ सय ५० जनाको मृत्यु भएको हो। शुक्रबारमात्रै भारतमा १ हजार २१ जनाको मृत्यु भएको थियो।
भारत अब मेक्सिकोनजिक पुगेको छ। मेक्सिकोमा ६३ हजार १ सय ४६ जनाको मृत्यु भएको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १ लाख ८१ हजार ८ सय र ब्राजिलमा १ लाख १९ हजार ५ सय ४ जनाको मृत्यु भएको छ।
२४ घण्टामा सबैभन्दा धेरै महाराष्ट्रमा ३ सय ३१ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या २३ हजार ७ सय ७५ पुगेको छ। यसैगरी, कर्नाटकमा १ सय ३६, तमिलनाडुमा १ सय २, आन्ध्र प्रदेशमा ८१, उत्तर प्रदेशमा ७७ र पश्चिम बंगालमा ५६ जनाको मृत्यु भएको छ। हाल भारतमा ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।