काठमाडौं-जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने घोषणा गरेका छन्।
जापानी सञ्चार माध्यमहरुका अनुसार उनले आफ्नो स्वास्थ्यमा समस्या भएको भन्दै राजीनामा दिने घोषणा गरेका हुन्। ‘आवेले केही दिनदेखि राजीनामा विषयमा सोचिरहेका थिए। अन्तत: उनले राजीनामा घोषणा गरेका छन्’ जापान टाइम्सले लेखेको छ, ‘उनले राजीनामाको कारण आफ्नो स्वास्थ्य बताएका छन्।’
प्रधानमन्त्री सिन्जो आवे सबैभन्दा लामो समय कार्यकारी पदमा रहने नेतृत्वमा पर्छन्। उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए। तर आफूले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए। सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बने। उनी ६५ वर्षका छन्।
जापानको आर्थिक वृद्दिमा उनको योगदान विशेष रहेको चर्चा गरिन्छ। आर्थिक उन्नतिका लागि उनले आबेनोमिक्स नीति लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।