काठमाडौं-कोरोना महामारी र छिमेकी देशहरुबीच संवादहीनता बढिरहेको सन्दर्भमा सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउन खोजेको छ। नेपाल सार्कको अध्यक्ष समेत भएकाले संवादहीनता अन्त्य गर्न परराष्ट्रमन्त्री तथा मन्त्रीस्तरीय अनौपचारिक बैठकका लागि नेपालले पहल सुरु गरेको छ। मन्त्रिपरिषद्को भदौ ९ मा बसेको बैठकले उक्त सार्कस्तरीय बैठक गर्ने निर्णय गरेको हो।
सबै मुलुकहरुसँग सहकार्य गरेर बैंठकको मिति तय गर्ने सार्कको परम्परा छ। बैठकको पहल गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा ४ सदस्यीय प्रतिनिधिमण्डल गठन गरिएको छ।
बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले सार्क राष्ट्रका परराष्ट्रमन्त्री तथा मन्त्रीस्तरीय ‘भर्चुअल’ बैठक आयोजना गर्ने जिम्मेवारी परराष्ट्रमन्त्रीलाई दिइएको बताएका थिए।
छिमेकी भारत र पाकिस्तानको तनावका कारण सार्क ओझेलमा पर्दै आएको छ। सार्क सम्मेलन कहिले गर्ने भन्ने बारेमा मिति भने तय भएको छैन। सार्क देशका विदेश मन्त्रालयसँगको कुराकानी पछि मिति तय हुने परराष्ट्रले जनाएको छ।
न्युयोर्कमा हरेक वर्ष हुँदै आएको संयुक्त राष्ट्रसंघको महासभा पनि यसपटक कोभिड–१९ का कारण भर्चुअल हुने सम्भावना छ। महासभाकै साइडलाइन वार्ताका रुपमा सार्क मुलुकहरु नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटानबीच यस क्षेत्रको आपसी विकास र समृद्धिका बारेमा कुराकानी गर्ने तयारी परराष्ट्रको छ।
कोभिड–१९, यसका असर र संकटमा सार्क मुलुकहरुबीच खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुन सक्ने देखिएको छ। यसअघि राष्ट्रसंघको ७४ औं महासभामा भएको सार्कका परराष्ट्रमन्त्रीहरुबीचको साइडलाइन वार्तामा भारत र पाकिस्तानका मन्त्रीहरु बीचमा सहजता देखिएको थिएन।
यसैगरी, श्रीलंकाद्वारा आयोजना गरिने २१ औं बिमस्टेक ‘सिनियर अफिसियल मिटिङ’मा नेपालको तर्फबाट सहभागी हुन परराष्ट्र सचिवको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि सरकारले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।