वालिङ-स्याङ्जामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।
छिमेकी जिल्लामा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेकाले जोखिमको उच्च संभावना रहेकाले जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापनको निर्णयले केही खुकुलो हुने गरी पुनः एकहप्ता निषेधाज्ञा थप गरिएको प्रजिअ क्षेत्रीले बताए।
बैठकले एम्बुलेन्स र शव बाहनबाहेक अन्य अत्यावश्यक सवारी साधनहरु खाद्य सामग्री, औषधि, दानापानी, दूध, इन्धन बोक्ने सवारी साधन, कूटनीतिक नियोगका सवारी साधन, प्रेस पास भएका सवारी साधन बिहान ६ देखि राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने निर्णय गरेकाे छ।
त्यस्तै परिचयपत्रका आधारमा कर्मचारीका सवारी साधन बिहान ९ देखि १० बजे र बेलुका ५ देखि ६ बजेसम्म सञ्चालन हुन पाउने प्रजिअ क्षेत्रीले बताए। निषेधाज्ञा अवधिभर सार्वजनिक यातायात र निजी सवारी साधन जिल्लाभित्र र अन्तर जिल्लामा सञ्चालन गर्न पाइने छैन।
अत्यावश्यक उपभोग्य खाद्यान्न पसल, तरकारी फलफूल, डेरी र माछा मासु पसलहरु बिहान ६ देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी खोल्न दिने निर्णय भएको प्रजिअ क्षेत्रीले बताए। निर्माण सामग्रीका पसल तथा बैंकहरुलाई स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड पूरा गरेर मात्रै सेवा प्रवाह गर्न निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
खाद्यान्न पसलहरु सञ्चालन गर्दा बिक्रेता तथा उपभोक्ताहरुले सेनिटाइजर, मास्क तथा अनिवार्यरुपमा प्रयोग गर्नुपर्ने, भौतिक तथा सामाजिक दूरी कायम गर्नुपर्ने कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन निर्देशन दिईएको प्रजिअ क्षेत्रीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।