एजेन्सी–कोरोना संक्रमण बढ्दै गएपछि फ्रान्सको राजधानीमा शुक्रबारबाट मास्क अनिवार्य गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार पेरिस र आसपासका क्षेत्रमा पैदल तथा साइकलयात्रीलाई मास्क लगाउन अनिवार्य गरिएको हो।
यो धेरै जनघनत्व भएको क्षेत्र हो, जहाँ ७० लाख मानिसहरु बसोबास गर्छन्। यद्यपि कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन।
पेरिस प्रहरीले स्वास्थ्य स्थिति लगातार गम्भीर हुँदै गइरहेकाले सर्वसाधारणको हितका लागि यो कदम उठाउन बाध्य भएको जनाएको छ। यसअघि फ्रान्सका प्रधानमन्त्री जीन क्यास्टेक्सले बिहीबार सरकारले पेरिसमा मास्क बाध्यकारी बनाएको उल्लेख गरेका थिए।
यसअघि फ्रान्समा २१ जुलाईदेखि बैंक तथा पसलमा मास्क लगाउन अनिवार्य गरेको थियो। अगष्टमा फेरि भीडभाड हुने क्षेत्रमा मास्क लगाउनुपर्ने नियम जारी गरिएको थियो।
विज्ञहरुले फ्रान्समा सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा दोस्रो चरणको महामारी सुरु हुने चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।