कञ्चनपुर-कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द रहेका छन्।
बोगटीको दोधारा स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलालीको धनगढी पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जयबहादुर महराले बताए। मधुमेह, उच्च रक्तचाप र ज्वरो भएकी भण्डारीकाे उपचारका क्रममा मृत्यु भएको उनले बताए। 'प्रेमलाई परिवारजनले स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको छ,' उनले भने।
उच्च ज्वरो देखिएका चार जनालाई कैलालीको धनगढी उपचारका लागि पठाईएकोमा केही निको भएर घर फिर्ता भएको र केही उपचारका क्रममा रहेको शाखा प्रमुख महराले जानकारी दिए।
उनका अनुसार मृत्यु भएका र ज्वरोको समस्या देखिएका सबै जनाको रगतको नमूना जाँचका लागि पठाइए पनि रिपोर्ट आइसकेको छैन ।
उच्च ज्वरोको समस्या लिएर आउने व्यक्तिहरुमा लामखुट्टेको टोकाइबाट हुने जापनिज इन्सेफ्लाइटिससँग मिल्दोजुल्दो लक्षणहरु रहेकाले सो रोगको सङ्क्रमण हुन सक्ने उनले बताए। दोधारा स्वास्थ्य केन्द्रका अनुसार १० दिन अघिदेखि उच्च ज्वरोको समस्या देखिएको छ। स्वास्थ्य केन्द्रका डा गगन चौधरीले लक्षण देखिएको तीनदेखि चार दिनभित्र सबैको मृत्यु भएको बताए। उनले ज्वरो आउनेबित्तिक्कै प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न स्थानीयलाई आग्रह पनि गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।