सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको लिदि पहिरोबाट विस्थापितहरुको अवस्था बुझ्दै। सभामुखको टोलीले राहत वितरण पनि गरेको थियो। तस्बिर : सभामुखको सचिवालय
काठमाडाैं-सिन्धुपाल्चाेककाे लिदी पहिरोबाट विस्थापित भएकाहरुका लागि सेलाङको बाँसखर्कमा नमूना मोडल बस्ती निर्माणको तयारी थालिएको छ। जुगल गाउँपालिका-२ लिदिका एक सय ७२ परिवारका लागि सुरक्षित स्थानमा नमूना बस्ती बनाउनका लागि छलफल थालिएकाे हो ।
विस्थापितकाे अवस्थाबारे बुझ्न बाँसखर्क पुगेका सभामुख अग्निप्रसाद सापकोटाले जोखिममा रहेकाहरुलाई तत्काल स्थानान्तरण गर्नुपर्ने बताउँदै लिदिवासीका लागि नमूना मोडल बस्ती बनाइने बताए ।
सभामुख सापकोटा र भूगर्भविदसहितको टोलीले जोखिमयुक्त वस्तीको अध्ययन गरि सुरक्षित ठहरिएमा स्थानान्तरणको पहल गर्ने जनाएको हो। टोलीमा सभामुख सापकोटा, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनील पोखरेल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्टलगायत थिए।
सिन्धुपाल्चोकको बाँसखर्क पुगेर जोखिमयुक्त भूगोलको अध्ययन गर्नुका साथै बाढीपहिरो पीडितलाई राहत वितरणसमेत गरिएको सभामुखको सचिवालयले जनाएको छ।

सिन्धुपाल्चोकका बाढी र पहिरोबाट विस्थापितहरुलाई सुरक्षित स्थानमा स्थायी स्थानान्तरण गर्ने समझदारी भइसकेको छ। तत्कालका लागि भने उनीहरुलाई अस्थायी बसोबासको व्यवस्था मिलाइने छ ।
सिन्धुपाल्चोकमा २०७७ साल असार र साउन महिनामा मात्र बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन् । त्यसैगरी १ सय ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।