सिन्धुपाल्चाेक-सिन्धुपाल्चाेककाे सुनकोसी गाउँपालिका-६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन्। सुन्दर डाँडा, धुसेनी र पाखरदोभानका घरहरु थप पहिरोको जोखिममा परेका हुन्। सुन्दरडाँडा बस्ती पहिरोभन्दा माथि परेकाे छ।
झण्डै २ सय मिटर लामो पहिरो अझै निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिए। पहिरोमुनि धुसेनी गाउँ छ । वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा छन्।
बस्ती जोखिममा परेपछि स्थानीयवासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । अहिले तत्कालका लागि स्थनीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ। अध्यक्ष थापाका अनुसार अहिले पनि पहिरो गएको स्थान छेउछाउ हिँड्दा खुट्टा भास्सिने गरेकाे छ । भूकम्पले जमिन हल्लाएदेखि नै यो स्थानमा पहिरो जान सक्ने खतरा बढेको थियो।
पहिरो रोकथामका लागि दुई वर्षअघि नै सम्बन्धित कार्यालय र प्रदेश सरकारसँग बजेट माग गरिएको थियो। तर कतैबाट सुनुवाइ नहुँदा पहिरो रोकथाममा पहल गर्न नसकिएको वडाध्यक्ष थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।