एजेन्सी–स्कटल्याण्ड सरकारले १२ मिनेटमै कोरोना परीक्षणको नतिजा आउने विशेष खालको टेस्टिङ किट प्रयोग गर्न त्यहाँको एक कम्पनीसँग सम्झौता गरेको छ।
स्कटल्याण्ड स्वास्थ्य सेवाले लुमिराडिएक्स नामको कम्पनीसँग सम्झौता गरेको हो। यसअनुसार सरकारले ३ सय र्यापिड टेस्टिङ मेशिन र ५ लाख टेस्ट किटमा ६७ लाख पाउण्ड खर्च गर्नेछ।
लुमिराडिएक्सले यस सम्झौतापछि अब स्टर्लिङमा रहेको आफ्ना कारखानामा टेस्टिङ स्ट्रीप बनाउने जनाएको छ। यो परीक्षणमा प्रयोग हुने मेशिनलाई सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने बताइएको छ। यो साना क्लिनिक र घुम्ती अस्पतालमा प्रयोग गर्न सजिलो भएको उल्लेख छ।
यो टेस्टिङ उपकरणमा विशेष खालको स्ट्रीप प्रयोग गरिनेछ, जो स्कटल्याण्डमै बन्नेछ ।
लुमिराडिएक्सका प्रमुख कार्यकारी रन ज्वानजिगरले यसबाट चाँडो र सही रुपमा नतिजा आउनुका साथै यसका आधारमा चिकित्सकले चाँडो उपचार सुरु गर्न सक्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।