काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाबाट लियोनल मेस्सीलाई तीन वर्षको सम्झौतामा लैजान इंग्लिस क्लब म्यानचेस्टर सिटीले प्रयास गरिरहेको छ। मेस्सीले बार्सिलोना छाड्ने इच्छा देखाएको खबर आएसँगै प्रयासमा लागेको सिटी सहमति नजिक पुगेको हो।
मेस्सीसँगको सम्झौतामा सिटीका मुख्य कार्यकारी अधिकृत फेरान सोरियानोले काम गरिरहेका छन्। मेस्सीसँग तीन वर्षका लागि सम्झौता गर्ने तयारी गरेको सिटीले त्यसपछि उनलाई सिटीकै क्लब न्यू योर्क सिटीमा जान सक्ने छुट पनि सम्झौतामा उल्लेख हुनेछ। यसका साथै ‘सिटी फुटबल ग्रुप’ को एम्बेस्डर हुने अवसरसमेत दिइने खबरहरु आएका छन्।
मंगलबार बार्सिलोना ब्यवस्थापनसँग आफूले क्लब छाड्न चाहेको विषय मेस्सीले राखेपछि युरोपका ठूला क्लबहरु उनलाई भित्र्याउन लागिपरेका थिए। जसमा सबैभन्दा अघि म्यानचेस्टर सिटी देखिएको छ। सिटीका प्रशिक्षक पेप गार्डिओलाले मेस्सीसँग सिटीमा आएपछिका अवस्था र योजनाबारे कुराकानी गरिसकेको बताइएको छ।
मेस्सीले पछिल्लो पटक २०१७ मा बार्सिलोनासँग सम्झौता गर्दा हरेक सिजनको अन्त्यमा क्लब छाडेर जानसक्ने बुँदा उल्लेख भएको थियो। बार्सिलोनामा अझै एक वर्षको सम्झौता बाँकी रहेका मेस्सीलाई सहज रुपमा बाहिरिने अवसर नदिन क्लबले प्रयास गरिरहेको छ।
मेस्सीको ७०० मिलियन पाउण्डको महँगो रिलिज क्लज देखाएर ब्यवस्थापनले तर्साइरहेको छ भने मेस्सीले आफ्नो सम्झौतामा उल्लेख भएको– ‘हरेक सिजनको अन्त्यमा आफूले चाहेमा क्लब छाड्न सक्ने’ भन्ने बुँदालाई अघि सारिरहेका छन्।
क्लबले मेस्सीले त्यसरी सिजनको अन्त्यमा क्लब छाडेर जान सक्ने बुँदा जुनको मध्यदेखि अन्त्य भइसकेको बताइरहेको छ। तर कोरोना माहामारीका कारण रोकिएर ढिलो सकिएको लिग सिजनका कारण त्यो समय अझ रहेको मेस्सीका कानूनी सल्लाहकारको तर्क छ। जसले यदि मेस्सीले क्लब छाडेर गएमा बार्सिलोना ब्यवस्थापन अदालती प्रक्रियामा जाने देखिन्छ। जहाँ विश्व फुटबलको सबैभन्दा ठूलो ट्रान्सफर विवादमा अझ लम्बिने छ।
मेस्सीले सित्तैमा छाडेर जाँदा लाग्न सक्ने घाँटालाई मध्यनजर गर्दै उनको बिक्रीमा नै लाग्न पनि बार्सिलोना ब्यवस्थापनमा छलफल भएको छ। नेमारलाई पिएसजीमा पठाउँदाको भन्दा बढी रकम हुनुपर्ने तर्क उठिरहेको छ। नेमार सन् २०१७ मा २ सय २२ मिलियन युरोमा पिएसजी गएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।