काठमाडौं– नेपालकी युवा गल्फर प्रतिमा शेर्पाले अमेरिकाका चर्चित गल्फ खेलाडी टाइगर उड्ससँग भेट गरेकी छिन्। मंगलबार अमेरिकाको फ्लोरिडामा भेट गरेकी शेर्पाले उड्ससँग आधा घन्टा प्रशिक्षण समेत लिएकी थिइन्।
उनको गल्फ यात्राको विषयमा बनेको फिल्मको प्रिमियरका लागि शेर्पा गत साता न्युयोर्क पुगेकी थिइन्।
उड्सलाई भेट्न उनी मंगलबार फ्लोरिडा पुगेकी थिइन्। भेटका दौरान उड्सले शेर्पालाई प्रशिक्षण दिएका थिए। उड्सले फ्लोरिडाको मेडलिस्ट गल्फ कोर्समा शेर्पालाई प्रशिक्षण दिएका हुन्। उड्सले शेर्पालाई कोर्सबाट बाहिर आएपछि केहि टिप्स समेत दिएको इएसपिएनले उल्लेख गरेको छ।

'प्रतिमा असाधारण छिन्,' उड्सले इमेलमार्फत दिएको अभिव्यक्ति इएसपिएनले लेखेको छ, 'मैले उनको संघर्ष पढेको थिए। मलाई अचम्म लागेको थियो। आज उनलाई भेट्ने मौका पाए। उनीसँग भएका कुरा प्रेरणादायी छन्। उनको महान यात्रा देख्दा आनन्द लागेको छ।'
उड्सले शेर्पासँग भएको भेटबारे ट्वीटरमा समेत पोस्ट गरेका छन्।

उड्ससँग भेट गरेपछि शेर्पाले जीवनकै खुसी क्षण भएको प्रतिक्रिया दिएकी छिन्। 'यो मेरो जीन्दगीकै उत्कृष्ट दिन हो ' उनले भनिन्, 'उड्ससँग भेट्दा धेरै खुसी लागेको छ।'
१८ वर्षीया शेर्पाले अहिलेसम्म १४ वटा मुख्य उपाधि जितिसकेकी छिन्। अहिले नेपालमा हुने प्रतियोगितामा शेर्पाले बर्चश्व जमाउने गरेकी छिन्। व्यावसायीक गल्फर बन्ने लक्ष्य लिएकी शेर्पालाई गत वर्ष उड्सले पत्र लेख्दै गल्फ लाग्न उत्प्रेरणा दिएका थिए।
शेर्पाको विषयमा बनेको फिल्म साताभर अमेरिकाको विभिन्न सहरमा प्रिमियर हुँदैछ। फिल्म इएसपिएनले बनाएको हो।
रोयल नेपाल गल्फ क्लबमा हुर्किएकी शेर्पा सामान्य परिवारकी सदस्य हुन्। उनका बुबाआमा क्लबको सुरक्षागार्डको रुपमा काम गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।