सोल- उत्तर कोरियाका नेता किम जोङ अनले कोरोना भाइरस र आँधीविरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन्।
तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता अनले देशमा कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गरेका हुन्।
उनले बिहीबार देशमा आँधी आउने पूर्वानुमान समेत गरिएको जानकारी पनि मंगलबार दिएका थिए।
सत्तारुढ दल वर्कर्स पार्टीको सो बैठकमा उनले अनपेक्षित चोट पुग्न सक्ने चिन्ता पनि व्यक्त गरेका थिए।
दुवैका विरुद्धमा सरकारले पनि आफ्नो तर्फबाट तयारीहरु गरिरहेको उनले बताएको उत्तर कोरियाको आधिकारिक समाचार संस्थाले बुधबार समाचार सम्प्रेषण गरेको छ।
उनले आँधीका कारण हुने क्षति न्यूनीकरणका लागि तत्काल पर्याप्त तयारी र प्रयासहरु गर्न पनि आग्रह गरेका छन्।
अत्यधिक वर्षा र बाढीका कारण ठूलो क्षति भएको एक हप्तामै उत्तर कोरियामा अर्को क्षति हुनेगरी आँधी आउन लागेको हो।
दुवै घटनाले देशको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्ने पनि नेता किमले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ।
कोरोना र आँधीसँग जुध्नका लागि सबै तह र क्षेत्रमा पार्टी र सरकारको तर्फबाट विभिन्न संयन्त्रहरु बनाउन पनि उनले निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।