काठमाडौं–उपत्यकामा निषेधाज्ञा एक साता थप भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको दुई दिने बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्।
काठमाडौमा संक्रमण बढ्दै गएको र अर्को सातासम्म कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने भएकाले निषेधाज्ञा लम्ब्यान काठमाडौं उपत्यकाका मेयरहरुले सुझाव दिएका थिए। उपत्यकामा निषेधाज्ञापछि पनि संक्रमितको संख्यामा कमि नआएको उल्लेख गर्दै प्रशासन कार्यालयहरुले विभिन्न गतिविधिमा रोक लगाउने निर्णय गरेका हुन्।
‘विश्वव्यापी महामारीको रूपमा फैलिइरहेको कोभिड-१९ को संक्रमण काठमाडौं उपत्यकाभित्र निरन्तर बढिरहेको छ,’ काठमाडौं जिल्लाका प्रमुख अधिकारीले जारी गरेको आदेशमा भनिएको छ, ‘ यस जिल्लामा सोको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जरुरी देखिएकाले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ भदौ १ को निर्णय, संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम २०७७ भदौ १० गते राति १२ः०० बजेदेखि २०७७ भदौ १७ गते राति १२ः०० बजेसम्म काठमाडौं जिल्लाभर लागू हुने गरी देहाय बमोजिमका गतिविधिहरू गर्नरगराउन निषेध गरिएको छ । ’
ललितपुर र भक्तपुरले पनि विज्ञप्ति जारी गर्दै यी विभिन्न सेवाहरुमा रोक लगाएका छन्।
यी हुन् रोक लागेका गतिविधि
१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन।
२. अत्यावश्यक सेवा तथा वस्त बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न।
३. अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन काठमाडौं जिल्लाभित्र प्रवेश गर्न।
४. जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न।
५. कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण, सोको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा सवारी साधन सञ्चालन गर्न ।
६. सवारी साधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, दूग्धजन्य पदार्थ साथै दूग्धजन्य पदार्थ प्याकेजिङका सामग्री, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग गरिने साबुन र स्यानिटाइजर लगायतका सामग्री, अस्पताल जाने आउने बिरामी, दाहसंस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधनजस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न ।
७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला तथा जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न।
८. परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न।
९. शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, ट्युसन सेन्टर, भाषा कक्षा, जमघट हुने गतिविधिहरु सञ्चालन गर्न।
१०. सबै प्रकारका सभा,सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस,सपिङ्ग मल, डिपार्टमेन्ट स्टोर, मनोरञ्जनस्थल, सैलुन, व्यूटिपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न।
११. फुटपाथ वा खुल्ला ठाउँ तथा ठेलागाडा वा साईकलमा सञ्चालन हुने विभिन्न व्यापाररव्यवसाय सञ्चालन एवं कवाडी संकलन गर्न।
१२. होटेल, रेष्टुरा सञ्चालन गर्न गराउन
तर,
१३. अत्यावश्यक वस्तु र सेवामध्ये औषधि ,पानीमात्र बेचविखन गर्ने र स्वास्थ्य सामग्री बिकी वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध रुपमा खुल्ला राख्न सकिने।
१४. अत्यावश्यक वस्तुमध्ये खाद्य वस्तु दूध र दूग्धजन्य पदार्थ फलफूल र तरकारी ,माछा मासु आदि बिक्री वितरण गर्ने पसलहरु बिहान ९ः१५ बजेसम्म खोल्न सकिने।
१५. बैकिङ सेवालगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्नेछ। सो सम्भव नभएमा नेपाल राष्ट्र बैंकले तोकेको संख्यामा सीमित रही आवश्यक सेवा प्रवाह गर्न सक्नेछ।
१६. अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ।
१७. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, स्वीकृत हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ।
साथै,
१८. अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानुनबमोजिम कारबाही हुनेछ।
१९. यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ।
२०. माथि उल्लेखित अत्यावश्यक वस्तु तथा सेवाको व्यापार र व्यवसाय सञ्चालन गर्दा अनिवार्य रुपमा सामाजिक भौतिक दुरी कायम राख्ने, मास्क र स्यानिटाईजर प्रयोग गर्ने लगायतका नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गर्ने गराउने व्यवस्था मिलाउने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।