काभ्रेपलाञ्चोक-काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मंगलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा संक्रमण देखिएको हो।
संक्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत ३ जना र भुम्लु गाउँपालिकामा कार्यरत एक स्वाथ्यकर्मी पनि छन्।
यसअघि शनिबार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैँसेपाटीमा कार्यरत कर्मचारी र उपचाररत बिरामी गरी २३ र धुलिखेल अस्पतालमा कार्यरत १२ कर्मचारीमा गरी ३५ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको थियो।
योसहित काभ्रेपलाञ्चोक जिल्लामा संक्रमितकाे संख्या १६२ पुगेको छ। तीमध्ये आजसम्म ६३ जना निको भएर घर फर्किसकेका छन् भने ९७ व्यक्ति विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ।
त्यस्तै काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–८ मा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पूरै वडा क्षेत्र सिल गर्नुका साथै गाउँपालिकाबाट हुने सेवाप्रवाहसमेत अनिश्चितकालका लागि बन्द गरिएको छ। पालिकाभित्रमा थप संक्रमण फैलिन नदिन भुम्लु गाउँपालिकाले मंगलबारबाट अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरेकाे प्रमुख प्रशासकीय अधिकृत मदनकुमार बजगाईंले बताए।
प्रमुख प्रशासकीय अधिकृत बजगाईँका अनुसार पालिकाको वडा नं ६, ८ र १० का बासिन्दा र गाउँपालिकाका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएकाले बाँकी समुदायमा समेत संक्रमण फैलन सक्ने सम्भावना रहेकाले मङ्गलबारबाट अनिश्चितकालका लागि कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएकाे हाे। सो पालिकाको वडा नं ८ मा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वडा क्षेत्र पूरै सिल गरिएको छ।
पालिकाको मंगलबार बसेको बैठकको निर्णयले मंगलबार राति १२ बजेबाट अर्को सूचना नभएसम्मका लागि वडा नं ८ को पूरै क्षेत्र सिल गरेको प्रमुख प्रशासकीय अधिकृत बजगाईँले बताए। वडा पूरै सिल गरेपछि वडा नं ८ को भुम्लुटार स्वास्थ्यचौकी तथा स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने सेवासमेत बन्द गरेको जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।