काठमाडौं- रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काविरुद्ध जबरजस्ती करणी (बलात्कार) को उजुरी दर्ता भएको छ।
उक्त गाउँपालिकामै कार्यरत एक स्वास्थ्यकर्मी महिलालाई बलात्कार गरेको भन्दै उनीविरुद्ध उजुरी परेको हो। ती महिलाले जिल्ला प्रहरी कार्यालय रामेछापमा गाउँपालिका अध्यक्ष खड्काविरुद्ध उजुरी दिएको रामेछाप प्रहरीले नेपाल लाइभलाई जानकारी दियो।
खड्काले पटक पटक बलात्कार गरेको कतै भने तथा उजुरी हालेमा जे पनि हुनसक्ने भन्दै धम्की दिएको पीडित युवतीले बताएको रामेछापका एक प्रहरी अधिकृतले नेपाल लाइभलाई जानकारी दिए।
खड्कालाई रामेछाप प्रहरीले यसअघि अपरहण तथा शरीर बन्धकको कसुरमा पक्राउ गरेको थियो। स्थानीय दर्पण घिसिङले आफूलाई बन्धक बनाएको भन्दै खड्काविरुद्ध जाहेरी दिएका थिए। त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। विगत १२ दिनदेखि खड्का जिल्ला प्रहरी कार्यालय रामेछापको हिरासतमा छन्।
त्यस्तै अध्यक्ष खड्काविरुद्ध रामेछापकै शेरबहादुर खड्काले ठगीमा उजुरी दिएका छन् । २१ रोपनी जग्गा गाउँपालिकाको नाममा ल्याउने भनेर झुक्याई सालीको नाममा पास गराएको र जग्गा वापतको २ करोड रुपैयाँ नदिएर ठगी गरेको आरोप शेरबहादुरले अध्यक्ष खड्कालाई लगाएका छन्। अब यी तीनवटै कसुरमा खड्कामाथि अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।