काठमाडौं- ‘श्रीमानले बलात्कार आरोपीविरुद्ध आदेश दिनुभयो। तनाव मलाई भयो। कसरी मिलाउने हो श्रीमान्?,’ केन्द्रीय कारागार सुन्धाराका जेलर लक्ष्मीप्रसाद बास्कोटा काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईसँग भन्दै थिए।
एक बलात्कार आरोपीविरुद्ध सुनाइएको आदेशपछि जेलर बास्कोटा आफैं न्यायाधीश भट्टराईको इजलासमा पुगेर के गर्न सकिन्छ भनेर सल्लाह माग्दै थिए। न्यायाधीश भट्टराईसँग पनि जेलर बास्कोटालाई दिने जवाफ थिएन। त्यसपछि भट्टराईले बास्कोटालाई भने, ‘कानुनमै भएको व्यवस्था अनुसार आदेश दिएको हो। यसमा दाँयाबाँया गर्न मिल्दैन।’
‘अदालतको आदेश नमाने मानहानी होला। नमानौं कसरी व्यवस्थापन गरौं?’ संकटमोचनका लागि केही उपाय छ कि झैं गरी जेलर बास्कोटाले न्यायाधीशसँग प्रतिप्रश्न गरे।
बलात्कार आरोपीविरुद्ध आदेश दिँदा किन जेलर तनावमा परे? किन जेलर आफैं न्यायधीशको इजलाससम्म पुगेर के गर्न सकिन्छ भन्दै सल्लाह माग्ने अवस्थामा पुगे? यी प्रश्नको जवाफ थाहा पाउन एक महिनाअघि फर्कनु पर्छ।
गत साउन १ गते बिहान अन्दाजी ७ बजे बुढानीलकण्ठ नगरपालिका-४ पासीकोट दुप्पा बस्ने एक बालिका बिस्कुट किन्न भनेर नजिकैको पसल गइन्। तर निकैबेरसम्म पनि उनी घर फर्किनन्। बालिका घर नफर्किएपछि परिवारका सदस्यले बालिका खोज्न थाले।
‘खोज्दै जाँदा सोही ठाउँका ७७ वर्षीय वर्षीय बुद्धिनारायण डंगोलको कोठामा अर्धनग्न अवस्थामा हाम्री छोरी भेटिएकी थिइन्,’ पीडित बालिकाका अभिभावकले दिएको जाहेरीमा उल्लेख छ।
‘अर्धनग्न अवस्थामा छोरी खाटमा पल्टिएकी थिइन्। छोरीमाथि बुद्धिनारायणले हातपात गरिरहेका थिए,’ बालिकाका अभिभावले जिल्ला अदालत काठमाडौंमा भने, ‘पछि छोरीलाई घर ल्याएर सोधपुछ गर्दा बुद्धिनारायणले २० रुपैयाँ दिन्छु भनेर घर लगेको र योनी र मलद्वारमा घाचेको बताइन्।’ छोरीले उक्त कुरा बताएपछि स्वास्थ्य परीक्षण गराउन लाग्दा प्रतिवादी बुद्धिनारायण आफैंले प्रहरीलाई खबर गरेका थिए।
000
'जस्ताले छाएको माटोको कच्ची घर। मूलढोका खुला अवस्थामा रहेको। घरको भित्तामा टस्साएर राखिएको बिस्तरासहितको ४ खुट्टे खाट। खाटमा कपडाहरू छरपस्ट अवस्थामा रहेको। उक्त खाटमा ती बालिकालाई बुद्धिनारायण डंगोलले नगद रु २० दिई ललाइफकाइ निजको इच्छाबिना जबरजस्ती करणी गरेको।'
प्रहरी उठाएको घटनास्थल मुचुल्कामा यी विषय उल्लेख गर्यो।
'मबाट बालिकाकी आमाले ८५० रुपैयाँ लगेकी थिइन्। सोही पैसा फिर्ता माग्दा यस्तो आरोप लगाएकी हुन्,’ बलात्कार आरोप लागेका डंगोलले बयानमा भनेका थिए।
त्यसपछि पीडित बालिकाका तर्फबाट उनका अभिभावकले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा बालिका बलात्कारको कसुरमा डंगोलविरुद्ध जाहेरी दिए।
प्रहरीसँगको बयानमा ती बालिकाले भनिन्, ‘साउन १ गते बिहान अन्दाजी बिहान ७ बजे म पसलमा बिस्कुट किन्न जाँदै गर्दा बुद्धिनारायण डंगोलले २० रुपैयाँ दिन्छु भनी आफ्नो कोठामा लगे। मैले लगाएको तलको कपडा खोल्दिए। आफ्नो पनि तलको कपडा खोले। त्यसपछि मेरा विभिन्न संवेदनशील अंगमा छुने घोच्ने काम भयो।’
यता प्रतिवादी डंगोलले भने आफूमाथि निराधार आरोप लगाएको बयान दिए। ‘एउटै टोलमा बस्ने भएकोले ती बालिकालाई म चिन्दछु। आजभन्दा करिब ३ वर्ष पहिला ती बालिका मेरो कोठामा आएकी थिइन्। सोही विषयमा उनको परिवारसँग मेरो सामान्य विवाद भएको थियो। राम्रोसँग बोलचाल थिएन। यसै क्रममा साउन १ गते कुकुर लिएर ती बालिका हिँड्दै गरेको बेला कुकुरलाई बिस्कुट किन्न पैसा मागेकाले मैले २० रुपैयाँ दिएको थिएँ। त्यसपछि ती बालिका घर गएकी हुन्। बालिकालाई मैले जबरजस्ती करणी गरेको छैन। मबाट बालिकाकी आमाले ८५० रुपैयाँ लगेकी थिइन्। सोही पैसा फिर्ता माग्दा यस्तो आरोप लगाएकी हुन्,’ डंगोलले बयानमा भनेका थिए।
पछि परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल थापाथलीमा स्वास्थ्य परीक्षण गराउँदासमेत बलात्कार भएको पुष्टि भयो। ७७ वर्षीय वृद्धले ९ वर्षीया बालिकालाई बलात्कार गरेको पाइएपछि पुर्पक्षका लागि कारागार पठाउने आदेश जिल्ला अदालत काठमाडौंका न्यायाधीश भट्टराईले सुनाए।
तर डंगोलका हकमा बलात्कारसँगै जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ पनि आकर्षित हुने देखियो।
ऐनको दफा १२ को उपदफा (१) को (ग) मा ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई कसुरको अवस्था हेरी पचहत्तर प्रतिशतसम्म कैद सजाय छुट दिन सकिने, अभियोग दाबी हेर्दा कसुर ठहर भएको खण्डमा अधिकतम २० वर्षसम्म कैद हुन सक्ने उल्लेख छ। उक्त ऐन अनुसार डंगोललाई १० वर्षभन्दा कम सजाय हुन्छ।
सोही ऐनको सोही दफाको उपदफा (२) बमोजिम अशक्त जेष्ठ नागरिक वा ७५ वर्ष उमेर पूरा गरेको व्यक्तिलाई अदालतले कसुरको गम्भीर्यता हेरी कारागारमा नराखी हेरचाह केन्द्रमा राख्न सक्ने व्यवस्था उल्लेख गरेको छ। डंगोल पनि ७५ वर्ष नाघिसकेका व्यक्ति भएकाले उनलाई थुनामा नराखी हेरचाह केन्द्रमा राख्नुपर्ने आदेश न्यायाधीश भट्टराईको इजलासले गरेको थियो।
ज्येष्ठ नागरिक ऐन अनुसार डंगोललाई १० वर्षभन्दा कम सजाय हुन्छ भने उनलाई हेरचाहगृहमा राख्नुपर्ने हुन्छ।
केन्द्रीय कारागार सुन्धारा पुर्याइएका डंगोलविरुद्ध हेरचाह केन्द्रमा राख्नू भन्ने अदालतको आदेशपछि जेलर बास्कोटा आपतमा परेका थिए। त्यसपछि अदालतको आदेशअनुसार हेरचाहगृहमा राखौं हेरचाह गृह छैन। नराखौं अदालतको मानहानी हुने भन्दै जेलर बाँस्कोटा अदालत पुगेका थिए।
हेरचाह गृह नभएका कारण अहिलेसम्म डंगोललाई कारागारमै राखिएको जेलर बास्कोटाले नेपाल लाइभलाई बताए। 'कानून अनुसार हेरचाह गृहमै राख्नुपर्ने भन्ने छ। कानुन बनेको १४ वर्ष भइसक्दा समेत अपराध गरेका वृद्धवृद्धा राख्ने हेरचाह गृह नहुँदा समस्या छ,' जेलर बास्कोटाले भने। हेरचाह गृह नभएपछि पशुपति वृद्धाश्रममा नै राख्नका लागि समेत ठाउँ नभएको बास्कोटाको गुनासो छ।
‘कानुनमा व्यवस्था छ। तर अहिलेसम्म वृद्धवृद्धा राख्ने हेरचाह गृह छैन। एक हिसाबले भन्ने हो भने यो हेरचार गृह बनाउने अवसर पनि हो। कसरी हुन्छ छिट्टै व्यवस्थापन गर्ने तयारीमा हामी छौं,’ जेलर बास्कोटाले नेपाल लाइभसँग भने।
पशुपतिमा ठाउँ नभएपछि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग निजी क्षेत्रले सञ्चालनमा ल्याएका वृद्धाश्रमको तथ्यांक माग गरेर त्यहाँ राख्ने तयारी भइरहेको जेलर बास्कोटाले बताए। अहिले निषेधाज्ञाको समय भएकाले निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएका वृद्धाश्रमको छलफल गर्ने मौकासमेत नमिलेको उनको भनाइ छ।
वृद्धाश्रममै राख्दा अर्कोतर्फ सुरक्षाको प्रबन्ध भने कसरी मिलाउने भन्ने समस्याले समेत जेलर बाँस्कोटालाई पिरोलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।