नेपालगन्ज– आशिर्वाद पेन्ट्स नेपालगन्ज कप टी–२० क्रिकेट प्रतियोगिता उपाधि एनआइसी एसिया दंगाली गोर्खाजले जितेको छ। बुधबार भएको फाइनलमा दंगालीले पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै दंगाली गोर्खाज च्याम्पियन बनेको हो।
प्रस्तावित कोहलपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको रोल्पाले १९.१ ओभरमा ८९ रनमा अलआउट भयो। खराब सुरुवात गरेको रोल्पाले पहिलो ८ विकेट ३३ रनको स्कोरमै गुमाएको थियो। कप्तान सौरभ खनाल ३, रमेश सिंह १, आकाश थापा ५, नन्दन यादव १०, समसुद्दिन अन्सारी ४, भिम सार्की ३, बसन्त कार्की ४ रनमा पेभेलियन फर्किएका थिए।
नवौं विकेटको लागि शेर ओली र रोशन शाहले ३५ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्थितिमा पुर्याए। शेर १४ रन बनाएर आउट भएपछि रोशनले मेराज अन्सारीसंग दशौं विकेटको लागि २१ रनको साझेदारी गरे। अन्तिम विकेटको रुपमा आउट हुनु अघि रोशनले मात्र २४ बलमा १ छक्का र ४ चौका प्रहार गरे भने मिराज अन्सारीले अविजित ७ रन बनाए।
रोल्पालाई सस्तोमै समेट्न दंगालीका देब्रे हाते स्पिनर अनिल खरेलले ३ विकेट लिए। उनले ४ ओभरमा मात्र १६ रन खर्चिए। कप्तान सन्दीप सुनारले २ विकेट लिएका थिए।

अनिल खरेल । तस्बिर : खरेलको फेसबुकबाट
९० रनको लक्ष्य दंगालीले ८ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। दंगालीका कप्तान सन्दीप सुनारले आक्रामक ब्याटिंग गर्दै २४ बलमा ८ चौका र २ छक्का मदतले ४६ रन बनाए। यस्तै मनोज सुनारले नटआउट २४ रन बनाउन १९ बलमा ५ चौका प्रहार गरे। फाइनल खेलका म्यान अफ द म्याच दंगाली गोर्खाजका सन्दीप सुनार घोषित भए।
उपाधिसँगगै दंगालीले १ लाख ११ हजार तथा रोल्पाले. ६० हजार रुपैंयाँ प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनी यात्रिजका बसिर अहमद घोषित भए। उत्कृष्ट रोल्पाका सौरभ खनाल र उत्कृष्ट बलर दंगालीका साहिद अन्सारी घोषित भए। यस्तै उदयमान खेलाडी दंगालीका सदाब अन्सारी, फेयर क्याप्टेन सिद्धान्त राजशाही (पाल्पा योद्धाज) , फेयर प्ले टिम पाल्पा योद्धाज घोषित भयो। गत बैसाख ३ गतेदेखि सुरु भएको प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टिमको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।