फाइल तस्बिर
काठमाडौं- संसदको मानव अधिकार समितिले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कानुनी कारवाहीको दायरमा ल्याउन आग्रह गरेको छ।
समितिका सभापति कृष्णभक्त पोखरेलले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका बीचमा काममा खटिएका चिकित्सकहरुको मनोवल बढाउनु पर्नेमा दुर्व्यवहार हुनु दुःखद भएको उल्लेख गरेका छन्।
बानेश्वरमा निजामती अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको घटना, विरगञ्ज, संखुवासभालगायतका क्षेत्रमा भएका घटनाप्रति ध्यानाकर्षण भएको भन्दै समितिले सरकारलाई कानुनी कारबाहीको दायरमा ल्याउन भनेको छ।
‘कोभिड १९ को महासंकटको समयमा जनताको सेवामा अग्रभागमा खटिएका स्वास्थ्यकर्मीको मनोबल गिराउने, र अपमान गर्नेजस्ता अवान्छित व्यवहारले स्वास्थ्यकर्मीलाई निकै हतोत्साही बनाएको छ’ विज्ञप्तिमा भनिएको छ‚ ‘सम्मानपूर्वक बाँच्न पाउने तथा आफूले रोजेको पेशा गर्न पाउने संविधान प्रदत्त मौलिक हकमा आँच पुर्याउने कार्य नगर्न अनुरोध गर्दछौं।’
कोभिड- १९ बाट सिर्जित संकटको रोकथाम, नियन्त्रण र उपचारका लागि अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग र सुरक्षा प्रदान गरी उनीहरुको मनोबल उच्च राख्न समितिले अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।