काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यकर्मीहरूमाथि दुर्व्यवहार भइरहेको भन्दै यस्ता घटनाको पुनरावृत्ति नहुने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले काठमाडौँ, चितवनलगायत देशका विभिन्न जिल्लाहरुमा कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार भएको भन्दै यस्तो आग्रह गरेको हो।
आयोगले छिमेकी तथा टोलबासीहरुबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटना स्वास्थ्यकर्मीमाथि हुनु गम्भीर भएको समेत उल्लेख गरेको छ। 'स्वास्थ्यकर्मीहरूको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न पनि आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,' आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगले समेत अनुगमन गरिरहेको बताइएको छ।
उपचारमा अहोरात्र खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट संक्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेराहाली धम्की तथा दुव्र्यवहार गरेको पाइएको आयोगले जनाएको छ। 'जनस्वस्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद् पक्ष हो,' आयोग प्रवक्ता वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कानुनको दायराभन्दा माथि गई गरिने यस प्रकारका घटनाहरुको छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्न समेत आयोग स्थानीय प्रशासनलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।