चितवन-विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरु आजबाट पुनः सुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको संक्रमण देखिएपछि साउन ३२ गतेबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो।
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नमूना परीक्षण गरिसकिएकाले स्वस्थ कर्मचारीहरुले आजबाट काम गर्ने बताए। परीक्षणका क्रममा १७ नर्स र चार सहयोगीलाई संक्रमण देखिएको उनले बताए। अस्पतालका सबै क्षेत्र पूर्णरूपमा निर्मलीकरण गरिसकिएको छ।
अस्पतालका बहिरङ्ग सेवाहरु नियमित गरिएको छ। यद्यपि अस्पतालमा आउनै पर्ने भएमात्र अस्पताल आउन अनुरोध गरिएको छ। अस्पतालले विशेषज्ञ चिकित्सकहरुको नाम र टेलिफोन नम्बर सार्वजनिक गरेकाले आफ्नो रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सकलाई सकेसम्म टेलिफोन गरेरमात्रै आउन भनिएको छ।
अस्पतालमा दैनिक ५० भन्दा बढी एम्बुलेन्स देशका विभिन्न क्षेत्रबाट आउने गर्दछन्। प्रदेश नम्बर २ को बढी संक्रमित क्षेत्रबाट ठूलो संख्यामा बिरामीहरु आउने गरेका छन् । यसबाट अस्पताल कोरोना संक्रमणको उच्च जोखिममा रहेको गौतमले बताए।
यसैबीच सो अस्पतालमा रहेको प्रयोगशालालाई व्यवस्थित गरी कोरोना परीक्षण थालिने भएको छ । कार्यकारी निर्देशक गौतमले दुई-तीन दिनमै प्रयोगशाला संञ्चालनमा ल्याउने तयारीमा रहेकाे बताए। आवश्यक पर्ने रिएजेन्टहरु आइनपुगेकाले प्रयोगशाला सञ्चालन गर्न ढिलाइ भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।