काठमाडौं- फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले हराउँदै जर्मन क्लब बायर्न म्युनिकले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। रोमाञ्चक फाइनलमा बायर्नका लागि खेलको ५९औँ मिनेटमा कोम्यानले गोल गरे।
दुवै टिमले पहिलो हाफदेखि नै केही राम्रा अवसरहरु खेर फाले। खेलको अन्तिम सयमसम्म आक्रामक बनिरहेको पिएसजीले गोल भने गर्न सकेन। बायर्न म्युनिकको यो छैटौँ च्याम्पियन्स लिग उपाधि हो। समूह चरणदेखि नै अपराजित रहँदै आएको बायर्नले ११ खेलमा ४३ गोल गर्दै उत्कृष्ट बन्यो।
यो सिजन बुन्डेस लिगा र जर्मन कपको उपाधि जितेर बढेको बायर्न म्युनिकका लागि च्याम्पियन्स लिग यो सिजनमा तेस्रो उपाधि हो।
यो सँगै च्याम्पियन्स लिग उपाधिमा बायर्न म्युनिकले इंग्लिस क्लब लिभरपुलसँग बराबरी गरेको छ। गएको सिजनको उपाधि जितेको लिभरपुलले पनि समान ६ पटक च्याम्पियन्स लिग जितेको छ। यी दुईभन्दा अघि इटालियन क्लब एसि मिलानले ७ पटक र स्पेनिस क्लब रियल मड्रिडले १३ पटक उपाधि जितेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।