काठमाडौं- रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्याको अनुसन्धान र अनुगमन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पुजारी हत्याप्रति जनचासो बढ्न थालेपछि प्रहरी प्रधान कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुसन्धान र अनुगमन भइरहेको जनाएको हो।
हत्याको जिल्ला प्रहरी कार्यालय रौतहटबाट अनुसन्धान भइरहेको, संघीय इकाइ प्रहरी कार्यालय जनकपुर र प्रदेश २ को टोलीबाट अनुसन्धानमा सहयोग भइरहेको र यसको प्रहरी प्रधान कार्यालयले अनुगमन गरिरहेको विज्ञप्तिमा उल्लेख छ।
गत बुधबार मन्दिर परिसरमै खाना खान लागेका बेला पुजारी साहलाई गोली हानी हत्या गरिएको थियो। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक रविराज खड्कासहितको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। तर अहिलेसम्म हत्यारा पक्राउ पर्न सकेका छैनन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।