कैलाली-पश्चिम नेपालका थारू समुदायले आज आइतबार अटवारी पर्व मनाउँदैछन्। याे पर्व हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो साताको आइतबार तथा कुशेऔंसी पछिको पहिलो आइतबारका दिन मनाइन्छ। अटवारी मुलतः थारू समुदायका पुरुषले मनाउने भएपनि महिला पनि अटवारी ब्रत बस्ने गर्दछन्।
पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ र सुर्खेतका थारू समुदायले अटवारी पर्व मनाउने गरेका छन् । थारू समुदायको यो माघीपछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्व हो।
अटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्यरातमा दर खाएर यो पर्व सुरु हुन्छ। आइतबार ब्रत बस्ने गरिन्छ। र, साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अटवारी पूजा गर्ने गर्दछन् । अटवारी पूजामा रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायतका अग्रासन झिकेर पूजा गरिन्छ। त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ। फरहारपछि आफ्ना विवाहित चेलीबेटीलाई अग्रासन दिन जाने चलन छ ।
अटवारी माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाइ र दिदीबहिनीबीच मायाप्रेम साट्ने पर्वका रूपमा स्थापित छ। त्यस्तै, अटवारीलाई एकता, विजय तथा भातृत्व प्रेमको प्रतीकका साथै बल र सुरक्षाको प्रतीकका रूपमा मनाइने गरेको छ ।
यसैबीच, प्रदेश सात सरकारले अटवारी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।