काठमाडौं- देशका विभिन्न स्थानमा रगत अभाव भइरहेको भन्दै नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आह्वान गरेको छ। बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकोले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रमा अत्यन्तै न्यून संख्यामा रगत स्टक रहेको भन्दै रेडक्रसले रक्तदानका लागि आह्वान गरेको हो।
केन्द्रीय रक्तसञ्चार सेवाका प्राविधिक श्रवण श्रेष्ठका अनुसार शनिबारको लागि बुक गरिएका क्याम्पहरु सबै स्थगित भएका छन्। बिहीबार ३२ जना दाताहरुले केन्द्रमै आई रक्तदान गरेकाले ६४ पिन्ट रगत गर्न सकिएको तर रगत लिन आएका ६१ जना भने रित्तोहात फर्किएका थिए। शुक्रबार २६ जनालाई रगत नै नदिई फर्काउनुपरेको थियो।
दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसुति, मुटु, क्यान्सर तथा मिर्गौला बिरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेसन गर्नुपर्ने बिरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए।
केन्द्रमात्र होइन, धरान, विराटनगर, चितवन लगायतका स्थानमा पनि रगत अभाव भइरहेको नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए। 'देशका अधिकांश भागमा निशेधाज्ञा छ। वरिपरिका जिल्लाहरुबाट पहिलाजस्तो सहयोग हुनसक्ने परिस्थिति रहेको छैन,' उनले भने, 'अन्य स्थानका तुलनामा नेपालगञ्जमा केही सहज अवस्था छ।'
रगत नपाए भक्तपुर जानु भन्ने अभियान सञ्चालन गरेको भक्तपुर केन्द्रले विगतको लकडाउनमा पर्याप्त रक्त संकलन गरेपनि विगत १३ दिनदेखि कुनै क्याम्प आयोजना नभएकोले त्यहाँ पनि अहिले रगतको स्टक अन्तिम अवस्थामा पुगेको छ। तर, स्थानीय प्रशासन र पालिकाको सहमति लिई बिहान सुडालमा क्याम्प आयोजना गरिएको र त्यहाँ २ महिला र २४ पुरुषले रक्तदान गरेको र अर्को एक स्थानमा रक्तदान शिविर चलिरहेको रेडक्रस शाखाका मन्त्री परशुराम पाण्डेले जानकारी दिए।
रगतको माग भइरहेकोले रक्तदाता, संघसंस्था र रेडक्रसका निकायहरुले सानो समूहमा भएपनि स्थानीय पालिका र प्रशासनको सहयोगमा रक्तदानको कार्यक्रम आयोजना गर्न गराउन गर्न सके रगत आपूर्ति सहज हुने निर्देशक पौडेलको भनाइ छ। 'नियमित रक्तदाता तथा युवाहरुले नजिकका केन्द्रहरुमा गई रक्तदान गर्न सक्दछन्,' उनले भने, 'बिरामीको रक्तसमूहसँग मिल्ने साथीभाई, इष्टमित्रहरुसँग पहिल्यै सोधखोज, उत्प्रेरणा तथा अनुरोध गरेमा कुरुवा र आफन्तजनलाई पनि सजिलो हुनेछ।' सुरक्षित तवरले रक्तदान गर्दा/गराउदा कोभिड–१९ को जोखिम नरहने विश्व स्वास्थ्य संघले यसअघि नै स्पष्ट पारिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।