काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा आगामी जेठ ३ मा हुने ‘पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपुल्स च्वाइस विधामा खेलाडीको मनोनयन घोषणा गरिएको छ।
पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक गर्न गरिएको हो। जहाँ क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, गल्फकी प्रतिमा शेर्पा, भलिबलका मानबहादुर श्रेष्ठ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ मनोनयनमा पर्न सफल भएका छन्।
गत वर्ष गरेको प्रदर्शन र पाएको चर्चाको आधारमा पिपुल्स च्वाइस विधाको लागि खेलाडी छनोट गरिएको हो। यसमा विजेता छनोट गर्ने विधिमा समयसापेक्ष परिवर्तन गर्दै एसएमएस र फेसबुक लाइकको मतभार ५० प्रतिशत बनाइएको छ। चार फेसबुक लाइकको मतभार १ एसएमएस बराबर हुनेछ। यसपटक प्रशिक्षकहरू र नेपाल खेलकुद पत्रकार मञ्चका सबै सदस्यहरुले पनि मतदिन पाउने व्यवस्था गरिएको छ।
प्रशिक्षक र मञ्चका सदस्यको मतभार २५–२५ प्रतिशत गरी ५० प्रतिशतको हुनेछ। गत सातौं राष्ट्रिय खेलकुदमा सहभागी ३५ खेलका प्रमुख प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सम्पूर्ण सदस्यले मत दिनेछन्। प्रशिक्षक र सदस्यले यो विधामा मत दिन पाउने व्यवस्था पहिलोपटक गरेको हो।
पिपुल्स च्वाइस अवार्डको लागि मतदान प्रक्रिया आजैबाट सुरु भएको छ, जुन २०७५ साल जेठ २ गते मध्यरातसम्म जारी रहनेछ।
एसएमएसमार्फत भोट गर्ने तरिका
सन्दीप लामिछानेलाई भोट गर्नका लागि PULSAR space SL गरी 37722 मा सेन्ड गर्नुपर्नेछ।
किरण चेम्जोङलाई भोट गर्नका लागि PULSAR space KC टाइप गरी 37722 मा सेन्ड गर्नुपर्नेछ।
प्रतिमा शेर्पालाई भोट गर्नका लागि PULSAR space PS टाइप गरी 37722 मा सेन्ड गर्नुपर्नेछ।
मानबहादुर श्रेष्ठलाई भोट गर्नका लागि PULSAR space MS टाइप गरी 37722 मा सेन्ड गर्नुपर्नेछ।
स्यान्टु श्रेष्ठलाई भोट गर्नका लागि PULSAR space SS टाइप गरी 37722 मा सेन्ड गर्नुपर्नेछ।
फेसबुकबाट भोट गर्नका लागि THT Live / NSJF को अफिसियल फेसबुक पेज लग इन गर्नुपर्नेछ।
अवार्डमा बर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा खेलाडी, प्रशिक्षकसहित समग्र रुपमा नेपाली खेलकुदलाई नै सम्मानित गरिनेछ।
वर्षका उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड तथा बर्षका उत्कृष्ट प्रशिक्षकलाई पल्सर मोटरसाइकल दिइनेछ। अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरूलाई प्रदान गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।