काठमाडौं- नेकपा विवाद समाधान कार्यदलको बैठक बिहान साढे ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। कार्यदलले आफ्नो प्रतिवेदन तयार गर्ने कार्यलाई अन्तिम रुप दिएको बताएको छ।
अघिल्लो शुक्रबार कार्यदल गठन गरिएको थियो। कार्यदललाई हप्तादिनभित्रै आफ्नो प्रतिवेदन बुझाउने कार्यदेश दिएको थियो। तर प्रतिवेदन तयार हुनसकेको छैन।
कार्यदलको बैठक अघिल्लो शनिबार,आइतबार, मंगबार, बिहीबार, शुक्रबार र आज शनिबार गरी जम्मा ५ दिन मात्रै बसेको छ।
कार्यदलमा सबै विषयमा लगभग सहमति जुटिसकेकाले आजै अध्यक्ष केपी ओली र प्रचण्डलाई प्रतिवेदन बुझाउन सक्ने स्रोतले जानकारी दिएको छ।
ओलीको राजीनामा विषय नसमेटिने
कार्यदलले यसअघि स्थायी कमिटीमा पेश भएका एजेण्डाकै वरिपरि रही विवाद समाधानको खोजी गर्ने भएको छ। कार्यदलले पार्टीभित्रको विवाद समाधनका लागि प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषयलाई नमेट्ने एक कार्यदलका सदस्यले बताए। ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा नदिनेगरी कार्यदलले समाधानको खोजी गर्ने भएको हो।
पार्टीभित्रको विवाद समाधान गर्न मन्त्रीमण्डल हेरफेर हुन सक्ने यसअघि नै अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा खुलासा गरी सकेका छन्।
यस्तै पार्टीभित्रको शक्ति समीकरण मिलाउन प्रदेशका मुख्यमन्त्रीको जिम्मेवारीमा समेत फेरबदल हुन सक्ने बताएको छ। सरकारी नियुक्तिको विषयलाई समेत कार्यदलले स्पष्ट हुनेगरी खाका ल्याउन सक्ने आकलन गरिएको छ।
कोरोना महामारीमा सरकारको काम कारवाही प्रभावकारी बनाउन महत्त्वपूर्ण सुझाव दिन सक्ने बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।