काठमाडौं– सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० क्रिकेट विश्वकप प्रतियोगिताको अन्तर्गत एसिया छनोटको समूह 'ए' बाट युएई दोस्रो चरणमा पुगेको छ।
कुबेतमा भइरहेको छनोटको सुरुवाती चार खेलमा जित निकाल्दै युएईले दोस्रो चरणमा स्थान पक्का गरेको हो।
समूहबाट ३ टिम छनोट हुने प्रावधान अनुसार अब कतार, साउदी अरेबिया, कुवेत र बहराइ मध्ये २ टिम दोस्रो चरणमा छनोट हुनेछन्। माल्दिभ्स भने सुरुवाती चार खेलमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको छ।
बिहीबार हुने अन्तिम चरणको खेलमा युएई र कुवेत, कतार र बहराइन, साउदी अरेबिया र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। यी खेलको नतिजापछि दोस्रो चरणमा छनोट हुने बाँकी २ टिमको टुंगो लाग्नेछ।

एसियाको समूह 'ए' बाट छनोट भएका ३ टिम र समूह 'बी' बाट छनोट हुने ३ टिम गरी कुल ६ टिमबीच दोस्रो चरणको छनोट हुनेछ।
नेपाल एसिया छनोटको समूह 'बी' मा छ। नेपाल सम्मिलित समूहमा भुटान, चीन, मलेसिया, म्यानमार, सिंगापुर र थाइल्यान्ड छन्। समूह 'बी' को छनोट मलेसियामा आगामी २ देखि १३ अक्टोबरसम्म हुनेछ।
दोस्रो चरणको छनोटमा ६ टिम मध्ये उत्कृष्ट २ टिमले अन्तिम चरणको छनोट खेल्न पाउनेछन्।
अन्तिम चरणको छनोटमा १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँ विभिन्न महादेशबाट छानिएका ८ टिम र सन् २०१८ को डिसेम्बर सम्मको शीर्ष १० वरीयता भित्र नपर्ने ६ टिम गरी १४ टिम हुनेछन्।
१४ टिमबाट शीर्ष ६ टिम सन् २०२० को विश्वकपमा छनोट हुनेछन्। छनोट पार गरेका ६ टिम र शीर्ष वरीयता पाएका १० टिम गरी कुल १६ टिमबीच सन् २०२० को टी–२० विश्वकपमा प्रतिस्पर्धा हुनेछ।
नेपालको सम्भावना
नेपालले सन् २०२० को विश्वकप खेल्न तीन चरणको छनोट पार गर्नु पर्नेछ।
नेपालले पहिलो चरणको छनोटमा भुटान, चीन, मलेसिया, म्यानमार, सिंगापुर र थाइल्यान्डसँग भिड्नेछ। यहाँ शीर्ष ३ भित्र परे नेपाल दोस्रो चरणमा छनोट हुनेछ।
दोस्रो चरणको छनोटमा एसियाको समूह 'ए' र 'बी'का शीर्ष ३-३ टिम गरी ६ टिम बीच प्रतिस्पर्धा हुनेछ। एसिया छनोटको दोस्रो चरणमा पुग्ने ६ टिम मध्ये २ टिम मात्र अन्तिम चरणको छनोटमा पुग्नेछन्। पहिलो चरण पार गरेको अवस्थामा नेपालले अन्तिम चरणमा पुग्न ६ टिम मध्ये शीर्ष २ भित्र पर्नु पर्नेछ।
अन्तिम चरणमा नेपाल पुगे विश्वभरबाट छनोट पार गरेका १४ टिमसँग खेल्नेछ। १४ मध्ये शीर्ष ६ भित्र परे नेपालले सन् २०२० को टी–२० विश्वकप खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।