काठमाडौं-१० राउण्ड गोली र २ थान अमेरिकन पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको शिखरबेसी–६ का २७ वर्षीय बिकेश पण्डित र नुवाकोटको लिखु गाउँपालिका–१ का २८ वर्षीय अमर तामाङ छन्।
प्रहरीले उनीहरुको साथबाट मेड इन युएसए लेखेको पेस्तोल २ थान, २ थान म्याग्जिन र १० राउण्ड गोली बरामद गरेको छ । हतियारको कारोबार गर्दै गरेको भन्ने सूचनाका आधारमा खटिएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले जानकारी दियो।
पण्डितलाई काठमाडौं माछापोखरीबाट पक्राउ गरिएको हो भने तामाङलाई नुवाकोट प्रहरीको सहयोगमा नुवाकोटबाट पक्राउ गरिएको हो । अमर तामाङले उक्त बरामद हतियार जेलमा रहँदा धनुषाको धारापानीका ३५ वर्षीय शम्भु कार्कीको भएको बताएका छन्।
कार्की र तामाङ दुबै जना हात हतियार तथा खरखजना र डाँका मुद्दामा जेल परेका थिए। कार्कीले उक्त हतियार लागु औषध मुद्दामा कारागारमा रहेका धादिङ खाल्टेका २८ वर्षीय राजकुमार गुरुङलाई राख्न दिएको बताएका छन्।
राजकुमारले बालाजुको एक होटल साहुलाई उक्त राख्न दिएका थिए । होटल साहुले उक्त हतियार राजुकमारकै चिनजान भएको बिनोद भन्ने व्यक्तिलाई दिएको र बिनोदमार्फत् उक्त हतियार विकेश पण्डितले पाएको प्रहरीले जनाएको छ।
पक्राउ परेका अमर तामाङ डाँका मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरी गत फागुन २२ गते थुनामुक्त भएका व्यक्ति हुन्। हातहतियारको ओसारपसारमा संलग्न भएका अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।