डोटी- गएराति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये ६ जनाको शव भेटिएको छ। रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयबासीको शव निकै टाढा कम्तीमा भेटिएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ।
भेटिएका शवमध्ये तीन जनाको मात्र सनाखत भएको र थप व्यक्तिको खोजी कार्य जारी रहेको समेत प्रशासन कार्यालयले जानकारी दिएको छ।
नेपाली सेनाको एआई १७ हेलिकप्टर बाढीले बगाएकाहरुको खोजीका लागि परिचालन भएको श्री नं ५ बाहिनी अड्डा दिपायल राजपुरका बाहिनीपति सहायकरथी होमनाथ दवाडीले जानकारी दिए। उक्त खोजीमा अछामका प्रजिअ उपाध्याय, भवानी बक्सका गणपति लोचन कार्की तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रसिंह थापासहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
बाढीले बगाएर बेपत्ता भएकाको खोजीका लागि बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधि तथा स्थानीयबासीको टोली खटिएको रामारोशन गाउँपालिकाका अध्यक्ष झङ्करबहादुर साउदले बताए। उनले भने, ‘बाढीले बगाएर बेपत्ता भएकाहरुको खोजीका लागि बिहानैदेखि टोली खटिएको छ, ठूलो जनधनको क्षति भएको छ, खोजी गर्दैछौं।’
(नोट : यसअघि यो समाचारमा केही तथ्यगत त्रुटि देखिएकाले पाठकवर्गमा पर्न गएको संशयप्रति क्षमायाचना गर्दै सच्याइएको छ। -सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।