काठमाडौं- बिहेको प्रलोभन देखाएर एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको र पछि पोल खुल्ने डरले भारतमा लगेर बेचेको पाइएको छ।
बालिकालाई जबरजस्ती करणी गरेको र भारतमा लगेर बेचेको आरोपमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका- ३ खरानीटार घर भई तारकेश्वर नगरपालिका- २ काभ्रेस्थली बस्ने २२ वर्षीय राजु तामाङ छन्।
तामाङले पीडित बालिकालाई माया गर्ने, पछि विवाह पनि गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाएर पटक पटक जबरजस्ती करणी गर्ने गरेको ब्यूरोका एसपी शम्भुप्रसाद ढकालले बताए। तामाङले ती बालिकालाई गोंगबुस्थित फेसबुक गेस्ट हाउसमा लगी पटक–पटक जबरजस्ती करणी गरेको दाबी प्रहरीले गरेको छ।
त्यसपछि पोल खुल्ने डरले बेच्ने उद्देश्यले आफ्नो साथीको जिम्मा लगाएको पाइएको प्रहरीले जनाएको छ। तामाङका साथीले गोंगबुबाट ट्याक्सी चढाई चितवनको नारायणघाट हुँदै काकडभिट्टा सीमा नाका पुर्याएर ती बालिकालाई भारतीय अपरिचित पुरुष व्यक्तिको जिम्मा लगाएर नेपाल फर्केका थिए।
पछि भारतीय पुरुषले पीडितलाई अश्लिल भिडियो देखाई भिडियोमा जसरी करणी गरौं भन्ने गरेको, भारतीयले नेपालीलाई रकम तिरी किनेको भन्दै समय समयमा डरत्रास‚ धाकधम्की दिने गरेको बालिकाले बताएकी छन्।
ती भारतीयले समय समयमा शारीरिक तथा मानसिक पीडा दिँदै रोजगार लगाइदिने बहानामा भारतको विभिन्न ठाँउमा लाने गरेका थिए। पछि बालिकाले आफूलाई बेचेको महसुस गरी भारतीयको आँखा छलेर भागेकी थिइन्। त्यसपछि एक नेपालीको सम्पर्कमा पुगेकी ती बालिकालाई नेपालीले गत वर्षको असोजमा कैलालीको टिकापुरमा रहेको इलाका प्रहरी कार्यालयमा बुझाइदिएका थिए।
‘साना हाल नेपाल’ नामक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरेपश्चात् पीडितको आफन्तलाई जिम्मा लगाएको पाइएको प्रहरीले जनाएको छ।
यही कसुरमा फरार रहेका तामाङलाई ब्यूरोले पक्राउ गरेको हो। पीडित बालिकाले गत साउन २९ गते यही घटना विवरण बताउँदै ब्यूरोमा उजुरी दिएकी थिइन्। उनैको उजुरीको आधारमा तामाङलाई भदौ १ गते ब्यूरोको टोलीले पक्राउ गरेको हो।
मानब बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान सुरु गरिएको ब्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।