काठमाडौं- त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले आंशिक प्राध्यापकहरूको व्यवस्थापन सम्बन्धी निर्देशिका पारित गरेको छ। आइतबार बसेको परिषद्को बैठकले निर्देशिका पारित गरेको हो।
त्रिवि शिक्षाध्यक्ष शिव भुसालका अनुसार निर्देशिकामा आंशिक प्राध्यापकले कोर्ष पूरा गरेअनुसारको सेवासुविधा प्राप्त गर्ने छन्। केही पिरियड मात्र लिने आंशिक प्राध्यापकका हकमा भने हाल पाउँदै आएको पारिश्रामिक पनि बढाइएको छ। ‘यतिन्जेल जति पिरियड पढायो उति पारिश्रामिक पाउने व्यवस्था थियो,’ शिक्षाध्याक्ष भुसालले भने, ‘अब एक-दुई पिरियड मात्र पढाउने शिक्षक निकै कम राखिन्छ। धेरै पिरियड आंशिक रूपमा पढाउनेले कोर्ष पूरा गरेअनुसारको निश्चित पारिश्रामिक पाउनुहुन्छ।’
शिक्षाध्यक्ष भुसालका अनुसार विश्वविद्यालयमा कति आंशिक प्राध्यापक छन् भन्ने यकिन तथ्याङ्क छैन। यसले आंशिक प्राध्यापकको व्यवस्थापनमा समस्या परेको छ।
लामो समय अघिदेखि आंशिक प्राध्यापकहरूले पटकपटक आफूहरुका माग सम्बोधन गर्न दबाब दिँदै आएका थिए। लकडाउनअघि नै त्रिविले प्राध्यापक विनोद पराजुलीको नेतृत्वमा ५ महिनाअघि आंशिक प्राध्यापकको अवस्था कार्यदल गठन गरेको थियो।
कार्यदलले बुझाएको प्रतिवेदनअनुसार निर्देशिका बनाइएको छ। ‘कार्यदलले आंशिक प्राध्यापकको व्यवस्थापन गर्ने भनी प्रतिवेदन बुझाएको थियो,’ शिक्षाध्यक्ष शिव भुसालले भने, ‘हामीले गर्न सक्ने मागहरु सम्बोधन गरेका छौँ।’
शिक्षाध्यक्ष भुसालका अनुसार सरकारले नै आंशिक प्राध्यापकलाई करारमा राख्ने अथवा अन्य कुनै तवरबाट व्यवस्थापन गर्न खोजेकाले अहिले त्रिविले सुविधा बढाउने गरी निर्देशिका पास गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।