काठमाडौं– रुसको मस्कोमा हुने स्ट्रिट चाइल्ड विश्वकप २०१८ ‘द फ्युचर डिपेन्ड्स अन यू’ मा नेपालले पहिलो पटक सहभागिता जनाउँदै छ ।
बैशाख २६ देखि जेठ ४ गतेसम्म स्ट्रिट चाइल्ड युनाइटेडले आयोजना गर्न लागेको यस प्रतियोगितामा सहभागिता जनाउने नेपाली टिमको जर्सी सार्वजनिक गरिएको छ।
नेपाली टिमको मुख्य प्रायोजक वेस्टार रेसिडेन्सीका संचालक अक्षय गोल्यानले नेपाली टिमको जर्सी सार्वजनिक गरे।
सडकमा जिवन विताउन बाध्य भएका बालबालिकालाई आवाश, शिक्षा, खानपिन लगायतको कार्य गर्दै आएको सेल्टर आश्रय नेपालको सक्रियतामा नेपालले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
सेल्टर आश्रय नेपालले सडक बालबालिकाहरुको राष्ट्रिय लिग संचालन गरेर खेलाडी छनोट गरेको थियो । रुस जाने नेपाली टिममा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन विश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनविर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन ।
उनीहरुलाई राजन न्यौपानेले प्रशिक्षण दिइरहेका छन् भने गोलकिपरको प्रशिक्षण नवीन महर्जनले सम्हालेका छन्। नेपाली टिम आइतबार देखि बन्द शिविर प्रशिक्षणमा बसेका छन् । खेलाडीको आवाससँगै पौडी, जिम, टेनिस, स्नुकर, टेबलटेनिस लगायतको सुविधा प्रायोजकले नै गरेको छ।
दुई साता एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षण गरेपछि नेपाली टिम मस्को प्रस्तान गर्नेछ। नेपाली टिमलाई कोकाकोला, गोल्डस्टार सुज, एनएमबी बैंक, सनराइज बैंक र नेपाल एसबीआई बैंकले सहप्रायोजन गरेको सेल्टर आश्रय नेपालकी अध्यक्ष खुस्बु ओलीले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।