काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो।
गत साउन ३ गते बसेको सचिवालय बैठक त्यसयता बसेको थिएन।
पार्टीभित्रको विवाद समाधानको उपाय पहिल्याउन गत शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ६ सदस्यीय कार्यदल गठन गरेका थिए। त्यसलाई पार्टी कमिटीबाट अनुमोदन गरेर आधिकारिकता दिनुपर्ने केही सचिवालय सदस्यले माग गरिरहेकै सन्दर्भमा बैठक बसिरहेको हो। सचिवालयको बैठकले कार्यदललाई अनुमोदन गर्ने सम्भावना छ।
साउन ३ गतेको बैठकमा मंसिरमै पार्टी महाधिवेशन गर्ने कुरा उठेको थियो। प्रधानमन्त्री ओलीले राखेको प्रस्तावलाई प्रचण्डले स्वागत गरेका थिए। अन्य सदस्यले भने विस्तृत प्रस्ताव ल्याउन भनेका थिए। तर, महाधिवेशनका विषयमा छलफल भए पनि निर्णय नभएको भन्दै प्रचण्डको सचिवालयले खण्डन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।