काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत भएको बताएका छन्।
'कार्यदलले तत्कालीन रुपमा कोभिड-१९ को नियन्त्रण, उपचार र अर्थतन्त्रको पुनर्निर्माण र अन्तत: राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समाजवाद उन्मुख सामाजिक-आर्थिक रुपान्तरण गर्न पार्टी र सरकार सञ्चालनमा के कसरी गुणात्मक परिवर्तन गर्ने भन्ने सुझाव प्रस्ताव पेश गर्नेछ', फेसबुकमा श्रेष्ठले लेखेका छन्, 'यसलाई स्थायी कमिटीमा प्रस्तुत गरी खुला र विवेकपूर्ण छलफल गरी संस्थागत निर्णय गरिनेछ। यस स्थितिमा कार्यदलको गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु नितान्त गलत हो।'
उनले अध्यक्षहरुद्वारा पार्टीभित्रका समस्याहरुको समाधान र संकटको निकासको निम्ति गृहकार्य गरी सुझाव पेश गर्न गठित कार्यदलले आफ्नो काम सुरु गरिसकेको र त्यसले पार्टी एकताको रक्षा सुनिश्चित गर्ने विषयमा सकारात्मक सन्देश दिएको बताएका छन्।
'मैले यसअघि नै सार्वजनिक रुपमा पार्टी संकटको निकासको सूत्र प्रस्तुत गरिसकेको हुँ, पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिवेशनको तयारी। पार्टी एकताको रक्षाले हामी सबैलाई खुसी बनाएको छ', श्रेष्ठले लेखेका छन्।
उनले पार्टीभित्र केही बिषयमा कुनै छलफल, बहस र संघर्ष भयो कि पार्टी फुट्ने खतरा उत्पन्न भइहाल्नु उपयुक्त नहुने बताएका छन्। 'बरु पार्टी एकतालाई सुदृढ गर्न स्वस्थ वैचारिक राजनीतिक छलफल र बहसलाई प्रोत्साहित गरिनुपर्छ', उनको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।