सिन्धुपाल्चोक- लिदी पहिरोमा परी बेपत्ता भएकामध्ये १८ जनाको शव भेटिएको छ। शनिबार थप सात बेपत्ताहरूको शव फेला परेपछि १८ जनाको शव भेटिएको हु। पहिरोमा परेकामध्ये अझै २१ जना स्थानीय बेपत्ता छन्।
शनिबार पाँच बालबालिकासहित थप सात जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। दिउँसोसम्म पाँच शव फेला परेकोमा साँझ थप दुई शव भेटिएका हुन्।
शनिबार स्थानीय मानबहादुर दोङ (३०), लक्ष्मी दोङ (११), माइलापराङ दोङ (१६), च्यामा दोङ (११), बिमला दोङ (७), सात महिने कबीर दोङ र मेकमाइ दोङ (३७) को शव पहिरोमा पुरिएको अवस्थामा भेटिएको हो।
जुगल गाउँपालिका–२, गोल्चे लिदीमा शुक्रबार बिहान पहिरो खस्दा ३७ घर पुरेको थियो। घरसँगै ३९ स्थानीय बेपत्ता भएका थिए। बेपत्तामध्ये शुक्रबार ११ मृत भेटिएका थिए। सनाखतपछि भेटिएका सबै शवको शनिबारै अन्त्येष्टिसमेत गरिएको छ।
पहिरोमा बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित डेढ सय सुरक्षाकर्मीलाई बेपत्ताको खोजीमा परिचालन गरिएको डिएसपी काफ्लेले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।