काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले जनता जोगाउने दायित्व पनि निर्वाह नगरेको आरोप लगाएको छ। सिन्धुपाल्चोक पहिरोबारे एक विज्ञप्ति जारी गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले राज्यले अक्षम्य गल्ती गरेको बताएका छन्।
जनताको गुहारपछि सुरक्षित ठाउँमा नसारेर राज्यको जिम्मेवारीपन उदांगो भएको समेत कांग्रेसको आरोप छ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा गएको भीषण पहिरोमा परी ३८ जना बेपत्ता भएका थिए। उनीहरूमध्ये १६ जनाको मात्र शव भेटिएको छ भने २२ जना अझै बेपत्ता छन्।
जुगल गापाको वडा नं २ का लिदि, नाम्फा, सानोनाम्फा, निम्लुङ, संच गाउँ आदि वस्तीहरुका जनताले पहिरोको जोखिम बुझेर करिब दस दिनअघि सरकार गुहारेर निवेदन दिएपनि जीवन जोगाउन सरकार नपुगेकाले पहिरोले उनीहरुको जीवन लिएको कांग्रेसको आरोप छ।
'जनतालाई सुरक्षित स्थानमा सारेर तिनलाई जोगाउने दायित्व निर्वाह नगर्नु सामान्य हेलचेक्र्याईं मात्रै होईन राज्यको अक्षम्य गल्ती हो। प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामथ्र्य सरकारसँग निश्चय नै हुन्न तर जोखिमको पूर्व सूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो,' प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन भनी कांग्रेसले प्रश्न उठाएको छ। विज्ञप्तिमा भनिएको छ, 'लिदीबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो? जनताको जीवन प्रति राज्यको चरम बेवास्ताको योभन्दा ठूलो उदाहरण अर्को के हुनसक्छ?'
कोरोनाको महामारीसँग जुध्न असफल भइरहेको सरकार सिन्धुपाल्चोकको घटना पश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको समेत कांग्रेसको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।