सिन्धुपाल्चाेक- ‘घरको बुइंगलमा राखेको कोदोमा पानी परेको छ कि भन्ने लगेर कोदो चलाउन गएको थिएँ। ठूलो आवाज आयो। घर हल्लेको जस्तो लागेपछि भूईचालो आएकोजस्तो महसुस गरें। तर, पहिरो आएको रहेछ,’ चौतारा अस्पतालको वेडबाट घाइते जुनुमाया तमाङले घटना सम्झिइन्।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा आएकाे पहिराेमा परेकी उनी चौतारा अस्पताल आइपुगेपछि घटना सम्झदै भक्कानिइन्। ‘घरहरुलाई पहिरो पुर्याे। घरकै ढु्ंगाले मेरो आधा शरीर थिच्यो,’ उनले भनिन् ‘श्रीमानले तान्नु भयो। अनि बाहिर निकाल्नु भयो। अनि म बाँचे।’
घटनाको चार घन्टापछि नेपाली सेना घटनास्थलमा पुगेको थियो। नेपाली सेनाले हेलिकाेप्टरमा तमाङलाई अस्पताल ल्याएकाे हाे।
पहिरोले पुरिनु अघि ठूलो आवाजमा बम पड्के झै सुनको उनले बताइन्। उनका अनुसार एक्कासी गाउँ पहिरोमा रै भासियो। गाउँका मानिसहरु अत्तालिएर कराएको सुनिन्थ्यो। उनका घर छेउका धेरै घर हेर्दाहेर्दै पहिरोले निल्यो अनि सबै घरहरु सोत्तर भए।
‘हाम्रो दुई वटा घर थियो। एउटा चाँहि पहिरोले पुरै पुरेको छ,’ उनले भनिन् ‘छोरी पनि पानी लिन पधेंरामा गएकीले बाँचेकी छ नत्र भन्न सक्दिन के हुन्थ्यो।’
पहिरो ठूलो भएकाले धेरै मानिस र घरहरु पुरिएको उनले बताइन्। 'धेरै घरहरु पुरिएका छन्, पशुहरु पुरिएका छन्,’ उनले भनिन् ‘हेर्दाहेर्दै आँखै अगाडि गाउँ समाप्त भयो छिमेकी सकिए।’
पहिरोमा परी बेपत्ता भएका ३८ जना स्थानीय मध्ये ११ जनाको शव निकालिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। बिहीबार राति मुसलधारे पानी परिरहेको थियो। बस्ती जोखिममा यसअघि नै थियो। गाउँलेहरुले गाउँपालिकादेखि जिल्ला प्रशासनसम्मलाई बस्ती जोखिममा परेकाले स्थानान्तरण गरिदिन निवेदन दिएका थिए। तर, त्यसको सुनुवाई हुन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।