ललितपुर- दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा पर्ने रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध छ। यही साउन ५ र ६ गते आएको अविरल वर्षाका कारण ठूलो पहिरो खसेर सडक अवरुद्ध भएकाे थियाे।
सो सडकखण्ड विस्तार, मर्मत र पर्खाल लगाउने जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै काम नसक्दा २५ दिनअघिदेखि ठूलो पहिराेका कारण गाउँवासीले विभिन्न समस्या भोग्न बाध्य भइरहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताए। उनले भने, 'यहाँ करीब ३०० मिटर लम्बाइ र ५०० देखि ६०० मिटर उचाइबाट पहिराको डल्लो नै खसेर गाउँवासीलाई आवतजावतमा समेत जोखिम भइरहेको छ।'
सो सडकखण्ड निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै पहिरो हटाएर करीब ५० वटा जाली भरिदिएर पर्खाल लगाइदिएमा तत्कालै समस्या समाधान हुने दाहालले जानकारी गराए।
यस्तै महाङ्कालमा बिजुली आउने र जानेक्रम भइरहने हुँदा वडा नं १ उन्यूचौरमा सबस्टेशन बनाई दक्षिण ललितपुरका तीन वटै गाउँपालिकामा वितरण गर्न सकिने दाहालको भनाइ छ। यहाँका गाउँपालिकामा नेटको खासै सुविधा नभएकाले विद्यालयस्तरका बालबालिकाका लागि वैकल्पिक शिक्षाको पहुँच पनि पुर्याउन नसकेकामा दाहालले दुःख व्यक्त गरे।
वडा नं ३ गोटिखेलका २१ घर अझै पनि पहिराको जोखिममा रहेको वडाध्यक्ष गङ्गाराम तिमिल्सिनाले बताए। उनले भने, 'यी २१ घरका परिवार पानी पर्दा अन्यत्र बास बस्न जाने र घाम लाग्दा आफ्नै घरमा बस्ने गरिरहेका छन्। गोटिखेलका तीनदेखि चार ठाउँका सहायक बाटो अवरुद्ध हुँदा टाढाटाढासम्म दूध र तरकारी बोकेर टाढासम्म लानुपर्ने बाध्यता अझैसम्म छ।' गोटिखेल क्षेत्रमा बिहानबेलुका दुई समय दूध भर्ने चलन रहँदा गाडी घुमाएर दुध लिन जाँदा र ल्याउँदा पनि बाटामै जम्ने गरेको तिमिल्सिनाले बताए।
गाउँपालिका विपद् व्यवस्थापन समितिले फेरि पानी परेर पहिरो जाने कुरालाई ध्यानमा राखी पहिरो हटाउन दुई स्काभेटर तयारी अवस्थामा राखेको उपाध्यक्ष मिङ्मा लामाले बताए। उनले भने, 'वडा नं २ शङ्खु र ३ नं दलचोकी अन्य वडाभन्दा केही जोखिममा रहेकाले यहाँ प्राविधिक टोली पठाउने व्यवस्थासमेत गरिरहेका छाैं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।