काठमाडाैं- हुम्लामा कोरोना भाइरसको संक्रमण भएपछि विद्यालय खुल्ने क्रम सुरु भएकाे छ। हुम्लाका स्थानीय विकास अधिकारी लोकबहादुर सुनारले जिल्लामा संक्रमणको कम हुँदै गएकाले विद्यालय खुल्ने क्रम सुरु भएको जानकारी दिए।
‘केन्द्र सरकारले लकडाउन गरेपछि सबै विद्यालय बन्द थिए,’ सुनारले भने, ‘अब विद्यालय खुल्न थालेका छन्।’ जिल्लामा सक्रिय संक्रमित नरहेकाले पनि विद्यालय खुलाउन थालिएको उनले बताए। चैततिर नै भारतबाट आएका व्यक्तिहरु १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किसकेको र बाहिरबाट जिल्ला प्रवेश गर्ने न्यून रहेकाले हुम्लामा संक्रमण कम देखिएको उनको भनाइ छ।
खार्पुनाथ गाउँपालिकाले असार २५ गते साउन ४ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको थियो। खार्पुनाथ गाउँपालिकास्थित सीता माध्यमिक विद्यालयले साउन ४ गतेदेखि नै विद्यालयमै पठनपाठन सुरु गरेको जनाएकाे छ।
विद्यालयका प्रधानाध्यायपक जुनराज हमालका अनुसार विद्यालयले शिक्षा मन्त्रालयले तोकेको मापदण्डअनुसार विद्यालय सञ्चालन गरेको हाे। ‘हामीले दुई सिफ्ट गरेर पढाइ सञ्चालन गरेका छाैं,’ हमालले भने, ‘प्राथना गर्ने, समूहमा छलफल गर्ने लगायतका हुलमुल हुन नदिइकन पढाइ सुरु गरेका हौँ।’

उनका अनुसार विद्यार्थी र शिक्षकले अनिवार्य मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुने, सामान्य स्वास्थ्य जाँच गरेर मात्रै विद्यालयमा प्रवेश गर्छन्।विद्यालयले कक्षा ६ देखि १० सम्मलाई बिहान ६ बजेदेखि साढे १० बजेसम्म र कक्षा १ देखि ५ सम्मलाई साढे ११ बजेदेखि साढे ४ बजेसम्म पढाइरहेको छ।
यस्तै हिमालपारीको जिल्ला मुस्ताङमा पनि गाउँपालिकाहरुले विद्यालय खुलाउने तयारी गरेका छन्। शिक्षा विकास तथा समन्वय इकाई मुस्ताङका प्रमुख टंक बरालका अनुसार अधिकांश गाउँपालिकाले बाहिरबाट आउने शिक्षकलाई क्वारेन्टाइनमा ल्याएर राखेको १४ दिन पुगेपछि विद्यालय खोल्ने तयारी गरेको जानकारी दिए।
‘तल्लो मुस्ताङका अधिकांश विद्यालयले भदौदेखि पढाइ सुरु गर्ने तयारी गरेका छन्,’ बरालले भने, ‘अधिकांश बाहिरी जिल्लाका शिक्षक आएर क्वारेन्टाइनमा बसिरहनुभएको छ। उहाँहरुको क्वारेन्टाइनको बसाइ सकिएपछि विद्यालय खुल्छन्।’ बरालका अनुसार गुम्बामा भने पढाइ रोकिएको छैन।
हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु हुने भएपनि कोरोना भाइरसको महामारी फैलिन नदिन सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसँगै विद्यालय बन्द थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।