दार्चुला- दार्चुलाको खार–खलंगा–देथला सडक तीन सातादेखि अवरुद्ध छ। खलंगा–खार–देथला सडकखण्ड र गोकुलेश्वर–देथला हुँदै खार–खलंगा जोड्ने सडक बाढी र पहिरोका कारण ठाउँठाउँमा अवरुद्ध भएको हो।
दुवैतर्फ सडक अवरुद्ध हुँदा नौगाड गाउँपालिकाका स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ। यही साउन ५ गते आएको बाढी पहिरोका कारण खार–खलंगा–देथला सडक अवरुद्ध भएको हो। सडकमा ग्राभेल गर्ने बेला बाढी पहिरोले अवरुद्ध गरेसँगै निर्माणको कार्य पनि ठप्प छ। प्रदेशको भौतिक पूर्वाधार कार्यालयअन्तर्गगत पूर्वाधार विकास कार्यालय बैतडीले यो सडक हेर्ने गर्छ।
सडकको दुवैतर्फ कालोपत्रे र ग्राभेलका लागि गत आर्थिक वर्षको अन्तिममा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौतापछि ठेकेदार परिचालन हुने बित्तिकै बाढी पहिरो आएपछि यो सडकखण्ड तीन सातादेखि अवरुद्ध छ। अवरुद्ध सडकखण्ड खुलाउने प्रयास नहुँदा नौगाडका स्थानीयवासीलाई आवतजावत र खाद्यान्न ढुवानी गर्न समस्या भएको छ।
खलंगा–खार सडकखण्डको मालभेला, डुङुरी, काटैलगायतका आधा दर्जन ठाउँमा सडक अवरुद्ध भएको पूर्वाधार विकास कार्यालय बैतडीका सव इन्जिनीयर दीपेन्द्र धानुकले बताए। 'अवरुद्ध सडकको सर्वेक्षण गरेका छौँ,' उनले भने, 'छिट्टै बाटो खुलाउने प्रयास हुन्छ। सडक पूर्णरूपमा सञ्चालन गर्न भने केही समय लाग्छ।'
उनका अनुसार भत्किएको सडकखण्डको मूल्यांकन भइसकेको छ। धेरै ठाउँमा पर्खाल लगाएर पनि बाटो सञ्चालन गर्नुपर्ने अवस्था देखिएको धानुकले बताए।
काटैभन्दा माथिल्लो क्षेत्रमा सडकमा कम क्षति पुगेको छ। खलंगा–खार सडकखण्डको झण्डै नौ किलोमिटर क्षेत्रमा ठेक्का सम्झौता भएर काम सुरु भएको अवस्थामा अवरुद्ध भएको हो। यो सडकखण्डमा ग्वालेक निर्माण सेवाले रु १८ करोड मा कालोपत्रको ठेक्का पाएको छ।
यस्तै देथला हुँदै खार–खलंगा जोड्ने गरी कालोपत्रे भइरहेको छ। देथलादेखि माथिल्लो क्षेत्रमा छ किलोमिटर कालोपत्र भइसकेको अवस्थामा यो क्षेत्र पनि ठाउँठाउँमा खहरे खोला र पहिराले सडक अवरुद्ध भएको सव इन्जिनीयर धानुक बताए। 'दुवैतर्फ सडक खुलाउन तत्काल प्रक्रिया अघि बढाउँछौँ', उनले भने। सडक नहुँदा नौगाडमा भाडादर महँगो हुँदै जाँदा खाद्यान्नको मूल्यसमेत चर्को हुन थालेको छ।
खलंगा–खार सडकखण्डको काटैसम्म बढी अवरुद्ध छ। उता नौगाड गाउँपालिकाको धुलीगडा, जामिर, खार, दल्लेख क्षेत्रमा सडक बढी अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउने विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने काम भएको नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले बताए।
अहिले सडक दुवैतर्फ अवरुद्ध छ। सडक नहुँदा अहिले पूरै नौगाडबासीलाई हिँडडुलमा समस्या भएको अध्यक्ष धामीको भनाइ छ। यो सडक प्रदेशको भौतिक मन्त्रालयले हेर्दै आएको छ। स्थानीय तहले खनेका सडक पनि अवरुद्ध भएकाले खुलाउने प्रयास भइरहेको अध्यक्ष धामीले बताए।
उता देथला–खार–खलंगा सडक निर्माण सम्पन्न नहुँदै जीर्ण बन्दै गएको छ। जीरो प्वाइन्ट मानिने कर्कलेभन्दा माथि देथला र सुन्दरपुर खण्डको दुई मिलोमिटर सड्कमा खहरे खोला बग्न थालेपछि यो सडकखण्ड जीर्ण बन्दै गएको हो। यो सडकखण्डका चार-पाँच वटा खहरे खोला सडकमै बग्दा जोखिमसमेत बढेको स्थानीयवासी बताउँछन्।
निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा कालोपत्रे उप्किन, भत्किन र खहरे खोला सडकखण्डको बीचबीचमा बग्न थाले पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ। सडक कटानले ठाउँठाउँमा पहिरोको जोखिम पनि बढ्दै गएको छ।
दार्चुला सदरमुकाम खलंगालाई जोड्ने सबैभन्दा छोटो सडकको रूपमा देथला–खार–खलंगा सडक निर्माण सुरु गरिएको हो। यो सडक ग्वाल्लेक बज्रगुरु जेभीले निर्माणको जिम्मा पाएको छ। शैल्यशिखर नगरपालिका–३ कर्कलेदेखि निर्माण शुरु गरिएको कालोपत्रे सडकखण्डको अति आश्वयक खण्डमा समेत पर्खाल निर्माण नगरेको, आरसीसी ढलान नगरेको, निर्माण सामग्री कमसल प्रयोग गरेकोलगायतका आरोप स्थानीयबासिन्दाले लगाएका छन्।
ग्वाल्लेक बज्रगुरुले निर्माण गर्ने जिम्मा पाएको छ किलोमिटर लामो सडकमा खहरे खोलाको निकास व्यवस्थापन नगरिँदा खोलाको पानी कालोपत्रे मार्ग भएर बग्न थालेको छ। गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएका हुनाले नवनिर्मित सडकखण्ड यो अवस्थामा पुगेको स्थानीय हिक्मत चन्दले बताए।
स्थानीयवासीले कमसल सामग्री प्रयोग गरेर सडक निर्माण गरिएको बारेमा पटकपटक विरोध गरिसकेका छन्। सम्बन्धित कार्यालयका प्रविधिकहरु पनि सुटुक्क आउनेजाने गरेकाले सबैमाथि शंका उब्जेको चन्दले बताए।
निर्माण कम्पनीका साइट इन्जिनीयर रामप्रसाद भुषालले योजनाको ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको जानकारी दिए। कतिपय ठाउँमा गर्नुपर्ने कार्य नसकेको उनले बताए।
पूर्वाधार विकास कार्यालयले भने नियमित नाली सफा गर्न नमिलेकाले सडकमा पानी पसेको जनाएको छ। पानीले कालोपत्रेलाई क्षति पुर्याएको छ। कतिपय ठाउँमा नाली निर्माण नगरिएकाले यस्तो अवस्था सिर्जना भएको हो। बिग्रिएको र टुटफुट भएको सडकखण्ड पुनः निर्माण गर्न लगाउने धानुक बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।