काठमाडौं- काठमाडौं जिल्ला टोखा नगरपालिका-१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी दाङका कृष्णबहादुर बोहराको शव फाल्ने घटनामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकी महिलाका सम्बन्धमा प्रहरीले कुनै पनि विवरण सार्वजनिक गरेको छैन।
घटनामा संलग्न भएको आशंकामा आइतबार पक्राउ परेका ४ महिलालाई भने छाडिएको प्रहरी स्रोतले जानकारि दिएको छ। आइतबार पक्राउ परेका महिलाको संलग्नता पुष्टि हुन नसकेपछि उनीहरूलाई छाडिएको प्रहरीको भनाइ छ।
बोहराको जिउ र टाउको छुट्टाछुट्टै स्थानमा भेटिएको थियो। जिउ भेटिएको स्थानभन्दा करिब ५० मिटर रहेको एक चार तले घरको तेस्रो तलाको एक कोठामा बोहराको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
आइतबार बिहान टाउको, खुट्टा र जीउ छुट्टाएको अवस्थामा दुई स्थानबाट शवका टुक्रा बरामद भएका थिए।
बोहराको हत्या गरी टाउको र खुट्टा जेब्रा झोलामा हालेर फालिएको थियो भने शरीर सुटेकशमा प्याक गरेर फालिएको अवस्थामा भेटिएको थियो।
आइतबार बिहान स्थानीयले झोलामा रगत लतपतिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि अनुसन्धानमा जुुटेको प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन। कसले किन बोहराको हत्या गर्यो भन्ने विषय पेचिलो बन्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।