काठमाडौं- बायर्न म्युनिकका फरवार्ड रोबर्टो लेवान्डोस्कीले युरोपियन च्याम्पियन्स लिग फुटबलमा क्रिस्टियानो रोनाल्डोको एकै सिजनमा बनाएको सर्वाधिक गोलको कीर्तिमान नजिक छन्।
च्याम्पियन्स लिगमा एकै सिजनमा सर्वाधिक गोलको कीर्तिमान युभेन्टसका फरवार्ड रोनाल्डोको नाममा छ। रोनाल्डोले स्पेनिस क्लब रियल मड्रिडमा रहँदा २०१३–०१४ को सिजनमा १७ गोल गरेर कीर्तिमान राखेका थिए। रोनाल्डोले च्याम्पियन्स लिगमा २०१५–०१६ को सिजनमा १६ गोल गर्दा २०१७–०१८ को सिजनमा रियलबाट १५ गोल गर्न सफल भएका थिए।
लेवान्डोस्कीले अब ५ गोल गरे एकै सिजनमा रोनाल्डोको त्यो १७ गोलको कीर्तिमान तोड्ने छन्। यो सिजन लेवान्डोस्कीले १३ गोल गरेका छन्। लेवान्डोस्की यो सिजन सर्वाधिक गोल गर्ने खेलाडी हुने लगभग पक्का जस्तै भएको छ। जर्मन क्लब बोरुसिया डर्टमुण्डका इर्लिङ हलाण्डले १० गोल गरेका छन्। तर डर्टमुण्ड अन्तिम १६ देखि नै बाहिरी सकेको छ।
च्याम्पियन्स लिगमा यो सिजन सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा म्यान्चेस्टर सिटीका गाब्रियल जिसस छन्। तर जिससले ६ गोल मात्रै गरेको हुँदा लेवान्डोस्की उनी भन्दा ७ गोलले अघि छन्। यसकारण पनि लेवान्डोस्की यो सिजनको च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बन्ने पक्का जस्तै भएको छ।
लेवान्डोस्कीले रोनाल्डोको त्यो रेकर्ड तोड्न पनि सक्छन्। तर कोरोना भाइरस (कोभिड १९) को कारण च्याम्पियन्स लिगको क्वार्टरफाइनलदेखिको खेल सिंगल लेगमा हुने हुँदा गाह्रो पनि छ। शुक्रबार राति क्वार्टरफाइनलको खेलमा जर्मन क्लब बायर्नले स्पेनिस क्लब बार्सिलोनासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ।
च्याम्पियन्स लिगमा सर्वाधिक गोलको कीर्तिमान पनि रोनाल्डो कै नाममा छ। रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्टस गरी तीन क्लबबाट कुल १ सय ३० गोल गरेका छन्। च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा लियोनल मेस्सी छन्। उनले बार्सिलोनाबाट कुल ११५ गोल गरेका छन्। तेस्रो नम्बरमा स्पेनका राउल गोन्जालेज छन्। उनले रियल मड्रिड र साल्केबाट ७१ गोल गर्दा चौथो स्थानमा लेवान्डोस्की छन्। उनले बोरुसिया डर्टमण्ड र बायर्न म्युनिकबाट गरी कुल ६६ गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।