काठमाडौं- आइतबार सर्वोच्च अदालत परिसरमा लामो समयपछि बा २ झ ३३१५ नम्बरको टोयोटा फर्च्युनर गाडी देखियो। पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले चढ्ने गरेको यो गाडी लामै समयदेखि सर्वोच्चले प्रयोग गर्न पाएको थिएन। पूर्वन्यायायाधीशहरूलाई नयाँ गाडी दिने र वहालवाला न्यायाधीशलाई चढ्न अभाव भएको भन्दै गाडी फिर्ता गर्न दबाब सिर्जना भइरहेका बेला सर्वोच्चमा उक्त गाडी फिर्ता आएको थियो।
सर्वाेच्च प्रशासनले उक्त गाडी सुविधामा दिन नसकिने भन्दै पूर्वप्रधानन्यायाधीश पराजुलीसँग खोसेको बताएको थियो। सर्वोच्च स्रोतका अनुसार उक्त गाडी फिर्ता पठाउन नसकिने भन्दै सवारी चालकलाई फिर्ता पठाएको थियो। तर साँझ पराजुलीकै घरमा गाडी पुर्याइएको थियो।
यो विषयमा जिज्ञासा राख्दा सर्वोच्च प्रशासनले यतिबेला भने उक्त गाडी मर्मतका लागि मात्र आएको दाबी गर्दै आएको छ।
टोयोटा फर्च्युनर बा २ झ ३३१५ पराजुलीले अवकाश पाउने समयमा खरिद गरिएको थियो। पराजुलीले उक्त नयाँ गाडी आफैले लगेका थिए। पराजुली विवादित भएपछि राजीनामा दिएका थिए। पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा विवाद भएपछि न्यायपरिषदले २०७४ फागुन ३० गते नवनिर्वाचित राष्ट्रपतिको सपथ भइरहेकै बेला प्रधानन्यायाधीश पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको थियो। पराजुली २०७४ साउन २१ गते प्रधानन्यायाधीशबाट अवकाश भइसकेको जानकारी दिइएको थियो। लगत्तै उनले पदबाट राजीनामा राष्ट्रपतिलाई बुझाएका थिए।
पराजुलीले उक्त गाडी २०७४ चैत २ गतेदेखि चढ्दै आएका छन्। उक्त गाडी सर्वोच्चले १ करोड २० लाखमा खरिद गरेको थियो। यसअघि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको गाडीमा पनि यस्तै विवाद हुँदाहुँदै खोसेर फिर्ता गरिएको थियो। २०७४ चैत २९ गते पूर्वप्रधानन्यायाधीश श्रेष्ठले चढ्दै आएको गाडी कर्मचारी ट्रेड युनियनका पदाधीकारीले नियन्त्रण लिएका थिए। पूर्वप्रधानन्यायाधीश श्रेष्ठले चढ्दै आएको बा १३ च ६२३१ नम्बरको गाडी सर्वोच्च अदालतबाट नियन्त्रणमा लिएपछि पछि फिर्ता गरिएको थियो।
सर्वाेच्चले नै पूर्वविशिष्ट अधिकारीहरूलाई कानुन बनाएर मात्र सुविधा दिन आदेश दिएको थियो। तर, सर्वाेच्चकै १२ पूर्वप्रधानन्यायधीशले सो आदेशको खिल्ली उडाउँदै गाडी सुविधा अवैध रुपमा उपभोग गर्दै आएका छन्।
यसअघि पूर्वप्रधानन्यायाधीशहरु सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केशवप्रसाद उपाध्याय, हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, केदारप्रसाद गिरी, मीनबहादुर रायममाझी, दामोदर शर्मा, रामकुमार प्रसाद साह, कल्याण श्रेष्ठ र शुशीला कार्कीले सर्वोच्चकै गाडी लगेका थिए। सर्वाेच्चको गाडी लगेका कारण मर्मत खर्च समेत उनीहरुले अदालतबाट लिँदै आएका छन्।
सोमबार पराजुलीको गाडी पनि सोही प्रयोजनका लागि आएको थियो। प्रशासनले सोही अवस्थामा जफत गर्ने तथा फिर्ता नर्गने भनेको थियो। तर बेलुका एक्कासी फिर्ता गरिएको थियो।
प्रायः प्रधानन्यायाधीशले अवकाश पाउने समयमा सुविधा सम्पन्न नयाँ गाडी खरिद गर्ने र आफूले अवकाश पाएपछि सो गाडी फिर्ता नगर्ने गरेका छन्।
सर्वोच्च अदालतले विशिष्ठ व्यक्तिहरुलाई सुविधा दिँदा कानुन बनाएर मात्र दिनुपर्ने फैसला गरेपनि त्यसको अवज्ञा पूर्वप्रधानन्यायाधीहरुबाटै हुँदै आएको छ।
यस्तो छ पूर्व प्रधानन्यायाधीशलाई सुविधा
पूर्वप्रधानन्यायाधीशलाई सुविधा दिनका लागि अलग्गै कानुन हालसम्म बनाइएको छैन। पूर्व विशिष्ट पदाधिकारीलाई सुविधा दिने भन्दै निर्माण भएको विधेयक संसद्मा विचाराधीन छ तर यसले कानुनको रुप लिन सकेको छैन। तर सरकार भने निर्णय गर्दै यस्तो सुविधा उपलब्ध गराउँदै आएको छ।
हाल सरकारले पूर्व प्रधानन्यायाधीशलाई गाडी र चालक, नायव सुब्बा सरहको कर्मचारी १ जना, कार्यालय सहायक १ जना र ४ जना सुरक्षाकर्मी उपलब्ध गराउँदै आएको छ।
कानुन नहुँदा पूर्वपदाधिकारीलाई सम्बन्धित निकायले नै सुविधा उपलब्ध गराउँदै आएको छ। सर्वोच्चबाट अवकाश पाएका प्रधानन्यायाधीशलाई सर्वोच्च प्रशासनले नै सुविधा उपलव्ध गराउने चलन छ। तर, अदालत प्रशासनले सुविधा उपलब्ध गराउने भएपनि हालसम्म प्रधानन्यायाधीशहरूले गाडी भने आफूखुसी रोजेर लैजाने गरेका छन्। ‘वार्षिक मर्मत र करका लागि आएको होला। तर मलाई केही जानकारी भएन,’ सर्वोच्चका सूचना अधिकारी तथा सहप्रवक्ता देवेन्द्र पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।