काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरेसम्म उपत्यकाभित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन्।
उपत्यकामा समुदायस्तरमा संक्रमण अझै पनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा सिल गर्नुपर्ने मेयर शक्यले बताएका हुन्। न्यूज एजेन्सीसँगको कुराकानीमा मेयर शाक्यले उपत्यकाका समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले पनि नाकामा सिल गर्नुपर्ने बताए।
'अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रणभन्दा बाहिर जान सक्छ,' उनले भने, ‘उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन सक्छ। किनकि यहाँ घना बस्ती छ। एउटै घरमा धेरै व्यक्तिहरु बस्छन्। घरधनि एकजना छ भने त्यही घरमा बहालमा बस्नेहरु धेरैजना छन्। एउटै कोठामा धेरै व्यक्ति बसेका छन्। यहाँ बिजनेस कम्प्लेक्सहरु धेरै छन्। यहाँ बजार धेरै छ। यहाँ बजारमा आवतजावत गर्दा एकव्यक्ति र अर्को व्यक्ति ठोकिने सम्भावना धेरै छ। त्यसकारण त्यो वेला नै हामीले भनेका थियौं उपत्यका सिल गरौं। उपत्यकालाई कडा गरौं। उपत्यका भित्र रहेका ४० लाख व्यक्तिमा खुकुलो गरौं तर केही व्यक्तिलाई काठमाडौं भित्र छिराउँदाखेरी काठमाडौं एउटा शान्त तलाउ भनेका थियौं, शान्त पोखरीमा ढुंगा हानेजस्तो हुन्छ।’
सरकाले लकडाउन खोलेपनि लामो दुरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको लकडाउन नै मानेर आवतजावत बन्द गर्नुपर्ने उनको भनाइ छ। एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नु भनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन उनले आग्रह गरे।
उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा शाक्यले जोड दिए। ‘लकडाउन खोलेको छ। तर सरकारले अहिलेपनि लमो दुरीका सवारीसाधन चलाउन सहमति दिएको छैन्। नदिनु भनेको अहिलेपनि लकडाउन नै हो। लकडाउनको स्वरुप फेरिएको हो। एउटा जिल्लाबाट अर्को जिल्लामा निषेध गरिएको छ। त्यसकारण अहिले काठमाडौंमा जतिपनि भेटिएका छन यहाँ अहिलेपनि समुदायस्तरसम्म धेरै पुगेको छैन,' उनले भने, 'केही स्थानीय व्यक्तिमा भेटियो तर अहिलेपनि विभिन्न पेशा व्यवसायका लागि काठमाडौं बाहिरबाट आएकोमा देखिएको छ। त्यसकारण अहिलेपनि हामीले नियन्त्रण गर्नुपर्छ। यसलाई वास्ता नगर्ने, हेलचेक्रयाई गर्ने हो भने रोक्न गाह्रो हुन्छ।'
मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपी आउने प्रवृतिले संक्रमणको अहिलेको स्थिति देखा परेको बताए। ‘हामीले भनेको निर्णय मानिदिएको भए काठमाडौं उपत्यकामा कुनैपनि संक्रमण देखिनेवाला थिएन्। हाम्रो कुरा सरकारले मानिदियो हामीले सरकारसँग अनुरोध गरेका थियौँ,' उनले थपे, 'नाकामा कडाई गर्न भन्यौं गृह मन्त्रालयले त्यही अनुसार परिपत्र जारी गरेको छ। तर यहा लुकिछिपि आउने प्रवृति रहयो।’
कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मठमन्दिर, बिहार, धर्मशालाका गतिविधिहरु बन्द गराइएको तर सरकारलाई दबाब दिने नाउँमा हुने जुुलुस र नाराबाजीका कारण जोखिम बढेको उनको ठहर छ। सरकारको समर्थन र विरोध गर्ने गतिविधि नगर्न समेत आग्रह उनको छ।
सरकाले पिसिआर परीक्षण गर्ने भन्दा पनि संक्रमण नै फैलन नपाउने गरी काम गर्नुपर्नेमा उनको जोड छ। सरकारले काम नै गर्न सकेन भन्ने आरोप लगाउने भन्दापनि सरकारले बनाएका मापदण्ड र नियमहरुलाई पालन गर्न आग्रह गरे।
नाकामा लुकिछिपी आउने र ल्याउन सहयोग गर्ने सबैलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ।
काठमाडौं उपत्यकाका जनप्रतिनिधिले गरेका निर्णयहरु जिल्ला प्रशासन, प्रदेश सरकार, संघीय सरकार सबैले मानेमा संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने शाक्यले उल्लेख गरे।
‘काठमाडौं बचाउनका लागि मेयर अथवा काठमाडौंका जनप्रतिनिधिले गरेको निर्णय भनेर बुझिदिनुपर्छ। राम्रा निर्णयहरु कार्यान्वयन गर्न गृह प्रशासनले पनि हामीले गरेका निर्णयहरु कार्यान्वयन गर्न सहयोग गर्नुपर्छ। जिल्ला प्रशासनले पनि हामीले गरेका निर्णयहरु कार्यान्वयन गर्न सहयोग गर्नुपर्छ,' उनले भने, 'त्यसैगरी अन्य संघीय मामिला मन्त्रालय जोसँग समबन्धित छ, श्रमसँग सम्बन्धित होला, कहिले खाद्यान्न सँग सम्बन्धित होला, कहिले स्वास्थ्यसँग सम्बन्धित होला सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्न सहयोग गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।