नयाँ दिल्ली– आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब लय जारी छ। पाँचौ खेलमा पराजित हुने क्रममा दिल्लीलाई सोमबार किंग्स इलावेन पञ्जावले ४ रनको झिनो अन्तरले हरायो।
पञ्जावले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको दिल्लीलाई अन्तिम बलमा जितका लागि ५ रनको आवश्यकता थियो। अन्तिम बलमा दिल्लीका श्रेयर एयरलाई पञ्जावका अफगान बलर मुजिर उर रहमानले आउट गरेका थिए। त्यसअघि अन्तिम ओभरमा १७ रन चाहिएको स्थितिमा श्रेयासले पाँच बलमा १ चौका र १ छक्कासहित १२ रन जोडेका थिए। श्रेयास ५७ रनमा आउट भए। श्रेयास अन्तिम बलमा आउट हुँदा दिल्लीले ८ विकेटको नोक्सानीमा १ सय ३९ रन मात्र जोड्न सक्यो।
त्यसअघि पृथ्वी शाहले २२ रन जोड्दा गौतम गाम्भिर ४ रनमा आउट भए। ग्लेन म्याक्सवेल १२, रिशव पन्त ४ र ड्यानियल क्रिस्टियन ६ रनमा आउट भए। राहुल टेवाइटाले २४ रनको योगदान गरे।
बलिङतर्फ पञ्जावका रहमान, अंकित राजपुत र बरिन्धर श्रानले २–२ विकेट लिए।
नेपालका युवा बलर सन्दीप लामिछानले सोमबार पनि मौका पाएनन्। दिल्लीमा आवद्ध सन्दीपले छैटौ खेलमा मौका नपाउँदा पृथ्वी शाह र आवेश खानले डेब्यु गरेका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले ८ विकेटको नोक्सानीमा १ सय ४३ रन जोड्यो। पञ्जावका लागि लोकेश राहुलले २३, करुण नयरले ३४, मयंक अग्रवालले २१ र डेभिड मिल्लरले २६ रन बटुले। बलिङमा दिल्लीका लियाम प्लुङकेटले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र आवेश खानले २–२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।